गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले १७औँ रोलु दिवसको अवसरमा पवित्र रोलु मन्दिरको दर्शन गरी पूजा–अर्चना गर्न पाउँदा आफु अत्यन्त हर्षित बनेको कुरा आफ्नो सामाजिक संजाल मार्फत उल्लेख गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै उनले सिक्किम भरिका पवित्र धार्मिक स्थलहरूले हाम्रो यात्रामा, विशेषतः कठिन समय र अत्याचारका घडीहरूमा पनि, हामीलाई कसरी संरक्षण र मार्गदर्शन गर्दै आएका छन् भन्ने विषयमा प्रकाश पारे। साथै ती स्थलहरूको आध्यात्मिक शक्तिले हाम्रो जनतालाई सधैं धैर्य, साहस र आशाको संचार गर्दै आएको छ भनि जनाए।
मुख्यमन्त्रीले क्रान्तिकारी साथीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरुको त्याग र अमूल्य योगदानकै कारण आज हामी अघि बढ्न र बलियो भविष्य निर्माण गर्न सक्षम भएका छौँ। उहाँहरूको प्रतिबद्धता र साहस कहिल्यै बिर्सनु हुँदैन भने।
उनले पुनः दोहोर्याउँदै भने कि हाम्रो सरकारले सुरु गरेका योजनाहरू समावेशी र जनमुखी विकासमा केन्द्रित छन्। योग्य तथा विपन्न विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै उनीहरूको उत्कृष्टता हासिल गर्ने आकांक्षालाई सहयोग गर्ने, साथै गरिब र आवश्यकतामा परेकाहरूलाई स्वास्थ्य सहायता उपलब्ध गराई कसैलाई पनि पछि नछोड्ने हाम्रो दृढ प्रतिबद्धता हो।

अन्त्यमा, मुख्यमन्त्रीले सबैलाई नम्रतापूर्वक भुइँमा उभिएको जनतासँग नजिक रहन आग्रह गर्दै मिसन २०२९ को महत्वमा जोड दिए। पार्टीलाई जरादेखि बलियो बनाउँदै, आधारस्तरसम्म सबैको उपस्थिति थप सुदृढ गर्ने र निष्ठा तथा समर्पणका साथ जनताको सेवा गर्ने हामी सबैको साझा दायित्व रहेको उल्लेख गरे।











