हामीले गर्दा पहाडमा पंचायत चुनाव हुँदैछ भन्नेहरू खै कहाँ छन्?: अजय एडवार्डस

दार्जीलिङ: ‘हामीले गर्दा पहाडमा पंचायत चुनाव हुन जान्दैछ भन्दै ढोल पिटने नेताहरूले विधानसभामा पारित भएको बिलमाथि किन बोल्दैनन्?’, हाम्रो पार्टीका अध्यक्ष एंव जीटीएका सभासद अजय एडवार्डसले प्रश्न उठाएका छन्l आउँदो वर्ष २०२३ मा राज्यको अन्य क्षेत्रहरू लगायत दार्जीलिङ पार्वतीय क्षेत्रमा पनि पंचायत चुनाव हुने तय भएको छ। गत केही दिन अघि मात्र राज्य निर्वाचन आयोगले दार्जीलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पंचायत चुनावलाई ध्यानमा राख्दै अधि सूचना जारी गरी सकेको छ। जारी गरिएको अधि सूचनामा पहाडमा दुई स्तरीय पंचायत चुनावको लागि सीमाकंनको विषयमाथि उल्लेख गरिएको थियो। पहाडमा दुई स्तरीय पंचायत चुनाव हुने स्पष्ट संकेत आएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)का नेतृत्वहरूले आफूहरूको कारणले गर्दा दार्जीलिङ पार्वतीय क्षेत्रमा २२ वर्षपछि पंचायत चुनाव हुने भएको छ भन्ने जस्ता बयानहरू मिडिया रिपोर्टहरूमा सर्वजनिक भएको थियो।

‘राज्यमा हुने पंचायत चुनावलाई ध्यानमा राख्दै राज्य विधानसभामा हप्ता दिनअघि राज्यको पंचायत चुनाव कानून २००३ लाई संशोधन गरेका छन्। राज्यको पंचायत चुनाव कानून २००३ मा पहाडको एउटा सीटको लागि २५० मतादाताहरू हुने जरूरी थियो, तर कानूनमा संशोधन गरेपछि अहिले ७५० मतदाताहरूको एउटा सीट हुने भएको छ। त्यसरी नै पंचायत समिति सीटको लागि १२ सय मतदाताहरू हुने जरूरी थियो, यसमा पनि अहिले तीन हजार मतदाताहरू हुनेपर्ने अनिर्वाय गरिएको छ’, भन्ने हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले बताएका छन्। उनले अझ भने, ‘आज भन्दा २२ वर्ष अघि पहाडमा सम्पन्न भएको पंचायत चुनावमा २५० मतदाताहरूको एउटा सीट हुने गर्थ्यो, तर समयअनुरूप सीटहरूको संख्या बढनुको साटो घटेर गएको छl’ ‘सीटको संख्या घटनु भनेको गाउँ, बस्ती, चियाबगान, सिन्कोना बगानहरूमा हुने विकासको दर घटनु हो’, उनले भने। ‘पहाडमा पंचायत सीटहरूको संख्या घटने तय भई सक्दा पनि दार्जीलिङ पार्वतीय क्षेत्रमा पंचायत चुनाव हामीले गर्दा हुन जाँदैछ भन्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरू किन बोल्दैन? उनीहरूले राज्य सरकारसँग मिलेर पहाडको विकास गर्छौ भन्दै ढोल पिटने गर्छन्, तर यस विषयमाथि मौन बस्नुको कारण के छ? भन्दै अजय एडवार्डसले प्रश्न गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement