प्रमुख संयोजक आयुष अधिकारी, अध्यक्षमा राजेश लकडा चयन
माल बजार: तराई डुवर्स जन शक्ति फ्रण्टको गठन भएको छ। शुक्रवार माल बजारको बस स्टयाण्डमा तराई डुर्वस जन शक्ति फ्रण्टको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ। उक्त उद्घाटन समारोहमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेका थिए। तराई डुवर्स जन शक्ति फ्रण्ट इण्डियन गोर्खा जन शक्ति फ्रण्टको भातृ संगठन हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स क्षेत्रको गोर्खा, आदिवासी, टोटो, राजबंशी, बिहारी, बंगाली, मारवाडी आदि समुदायहरूले झेल्दै आएका समस्याहरूलाई समाधानको मार्ग खोजी निकाल्न तराई डुवर्स जन शक्ति फ्रण्टको गठन गरेको बताइएको छ। माल बजारको बस स्टयाण्डमा तराई डुवर्स जन शक्ति फ्रण्टको सभा सम्पन्न भयो। सभामा तराई डुवर्स आदि क्षेत्रहरूको समस्याहरूलाई ध्यानमा राख्दै तराई डुवर्स जन शक्ति फ्रण्टको गठन भयो।जसमा सर्वसमति अनुरूप आयुष अधिकारीलाई प्रमुख संयोजकको पदभार सुम्पिएको छ।

त्यसरी नै अध्यक्ष राजेश लकडा, उपाध्यक्ष डाक्टर आरपी शर्मा, उपाध्यक्ष चन्दन लोहरा, महासचिव कृष्ण नन्द सिंह, सचिव डाक्टर जय प्रफुल लकडा, सहसचिव विजय छेत्री, सहसचिव जेरेट पूर्ति, कोषाध्यक्ष पप्पू गुप्तलाई चयन गरिएको छ।त्यसरी नै प्रमुख सल्लाकारहरूमा प्रकाश अधिकारी र सुजित कुजुरलाई चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरूले पार्टीको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितालाई घर घरमा पूराउने संकल्प लिएको जानकारी प्राप्त भएको छ।










