सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। बिहीवार सिमुलबारी खेल मैदानमा भएको दोस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड दार्जीलिङले कनकाई फूटबल क्लब, नेपालविरुद्ध ३–१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कप्तान प्रणय राईले ४१औं र ७४औं मिनटमा २ गोल गरे। यसबाहेक गणेश लिम्बु ले ७१औं मिनटमा गोल गरे। कनकाई एफसी-को तर्फबाट एकमात्र गोल आशिष लावाटीले ९०औं मिनटमा गरे। प्रणय राईलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा तरुञ्जाबारी एफसी र रेड बुल एफसी (खोआरडांगा)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










