खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीनमा पर्ने कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा गत केही दिनदेखि अति दुर्लभ प्रजातिका पंक्षी धनेष नियमित आउने गरेकोले अहिले यो बस्ती र क्षेत्र नै पर्यटन स्थलमा परिणत भइसकेका छन्। स्थानीय कृषक विजय राईले मौसम अनुसारको खेती गर्ने नगरेकोले सही मौसम अनुसार बारीमा फलेको पङ्खाको दाना खान यही दुर्लभ प्रजातिका धनेष चरा नियमित रूपमा आउन थालेका छन्। गत वर्षसम्म उक्त फल पङ्खा ५ रुपियाँको दरले बिक्री गर्ने गरेको भए पनि यसपटक धनेष चराको आगमनले सो पङ्खाको दाना बिक्री नगर्ने चराचुरुङ्गी संरक्षणक पथप्रदर्शक (बर्ड गाइड) हरूले अनुरोध गरेका छन् । यस्ता दुर्लभ पङ्क्षीहरूको प्राकृतिक आहारा जोगाउन सकिए अझ धेरै पङ्क्षीहरू हामीले देख्न पाउँछौं उनीहरू भन्छन्। यति मात्र होइन विगतमा विजय राईले उक्त पङ्खाको दाना ५ रुपियाँमा बिक्री गर्ने गरे तापनि हाल उसले बिक्री गरेका छैनन् तर दैनिक २० जना भन्दा बढी बाहिरबाट आउने फोटोग्राफरहरूबाट प्रति फोटोग्राफर २०० रुपियाँ लिने गरेकोमा कृषक विजय राई लाभान्वित भएका छन् । धनेश चराको आगमनसँगै ग्रामीण पर्यटनको विकास भएको, स्थानीय होमस्टेहरू सञ्चालनमा आएका तथा सवारी चालकदेखि स्थानीय युवासम्मलाई रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ। आज मुम्बई, पुणे, हरियाना तथा बङ्गालका विभिन्न स्थानबाट आएका २० भन्दा बढी फोटोग्राफरहरूले धनेश चराको तस्बिर खिँच्दै यस क्षेत्रको जैविक विविधता र प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन्।

स्थानीय गाउँवासीको प्रयास र दुर्लभ चरा धनुषको आगमनले मात्र यो क्षेत्र पर्यटनको विकासमा अघि बढन सकिन्छ भने पहाडको प्रशासन ब्यवस्था (जीटीए) र राज्य सरकारको सकारात्मक सोच र पहल भए यो क्षेत्र मात्र होइन अन्य सुन्दर ठाउँहरू पनि पर्यटकीय स्थानमा विकास गर्न सकिन्छ। यसको साथै पहाडको बनजङ्गलको संरक्षणले नै विभिन्न दुर्लभ प्रजातिका पशु पंक्षीहरूको संरक्षण गर्न सकिने बताउँछन् ।








