सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। बुधवार सिमुलबारी खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल म्याचमा डीएसए-ले डीबीएफसी, नेपालविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट हेमराज भुजेलले ५२औं र ८१औं मिनटमा २ गोल गरे। यसबाहेक सुरज केरकेट्टाले ४०औं र निशान्त लोहारले ९०औं मिनटमा गोल गरे। डीबीएफसी-को तर्फबाट एकमात्र गोल आयुष राईले ५५औं मिनटमा गोल गरे। हेमराज भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङ र कनकाई स्पोर्टिंग क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










