मुख्यमन्त्री माउण्ट सिनाई एकेडेमीको रजत जयन्ती समारोहमा मुख्य अतिथि

Screenshot_20251217_233340_Facebook

सोरेङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्लाको जूमस्थित माउण्ट सिनाई एकेडेमीको रजत जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी हुनुभएको छ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले विद्यालयका प्रधानाध्यापकको समर्पण, शैक्षिक पृष्ठभूमि तथा जनकल्याणप्रति रहेको प्रतिबद्धताको उच्च प्रशंसा गर्नुभयो। यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले यहाँका स्मृतिहरूलाई अविस्मरणीय रहेको बताउनुभयो। साथै, विभिन्न क्षेत्रमा विद्यालय तथा यसका पूर्व विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरूको सराहना गर्नुभयो।
मुख्यमन्त्रीले आकांक्षी व्यक्तिहरूका लागि सरकारले उपलब्ध गराइरहेका सहयोग तथा अवसरहरूको जानकारी गराउँदै युवाहरूलाई आफ्ना प्रतिभा पहिचान गरी व्यक्तिगत तथा क्षेत्रीय विकासमा उपयोग गर्न आह्वान गर्नुभयो। उहाँले यस क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै सरकारको तर्फबाट आवश्यक तथा समयमै सहयोगको आश्वासन दिनुभयो।
पूर्वाधार विकासका सन्दर्भमा स्थानीयवासीको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्रीले राज्यका विभिन्न समुदायहरूले मनाउने चाडपर्व, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो। उहाँले माघे संक्रान्तिको अवसरमा आयोजना गरिने कार्यक्रमहरूको जानकारी दिँदै सरकारले प्रदान गरेका सहयोग तथा अवसरहरूको पूर्ण सदुपयोग गर्न जनतालाई आग्रह गर्नुभयो।
कार्यक्रमका अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा सालघारी–जूमका विधायक मदन सिन्चुरीलाई विद्यालयको तर्फबाट सम्मानित गरियो। साथै, विद्यालयले प्रवीण राई, डा. हेमलता राई, जयकुमार राई तथा सुष्मा मुखियालाई पनि सम्मान प्रदान गरेको थियो। यस अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरिएको थियो।
समारोहको प्रारम्भमा मुख्यमन्त्रीको बाहुलीद्वारा विद्यालयको २५औं गौरवशाली वर्षको अवसरमा स्मारक पट्टिकाको अनावरण गरियो। उहाँले विद्यार्थीहरूद्वारा प्रस्तुत विज्ञान प्रदर्शनी तथा स्टलहरूको पनि अवलोकन गर्नुभयो। कार्यक्रममा विधायक इरुङ तेन्जिङ लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव युगेन तामाङलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement