सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा युनाइटेड स्पोर्ट्स क्लब, कलकत्ताले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा युनाइटेड स्पोर्ट्स क्लबले दार्जीलिङ पुलिसविरुद्ध ४–२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कप्तान राजेश सिंहले ह्याट्रिक गरे। उनले २२औं, ५८औं र ८८औं मिनटमा गोल गरे। अन्य एउटा गोल रोनाल्डो मुर्मुले ३०औं मिनटमा गरे। यसरी दार्जीलिङ पुलिसको तर्फबाट शुभम लामा (हर्के)-ले ३७औं र एरोन राईले ८४औं मिनटमा गोल गरे। राजेश सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र डीबीएफसी, नेपालबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










