अबु धाबी: आईपीएल २०२६-को निम्ति मंगलवार अबु धाबीमा भएको मिनी लिलामीमा अष्ट्रेलियाका स्टार अलराउण्डर क्यामरन ग्रीनले इतिहास रचे। ग्रीनलाई कलकत्ता नाइट राइडर्स (केकेआर)-ले २५.२० करोड़ रुपियाँमा किन्यो। उनको आधार मूल्य २ करोड़ रुपियाँ थियो। यसको साथै ग्रीन आईपीएल इतिहासको सबैभन्दा महँगो विदेशी अनि समग्रमा तेस्रो सबैभन्दा महँगो खेलाड़ी बने। लिलामीमा ग्रीनको नाम अघि आउनको साथै ४ वटा फ्रेञ्चाइजीबीच प्रतिस्पर्धा भयो। अन्तमा केकेआर-ले रेकर्ड बोलीको साथ ग्रीनलाई हासिल गऱ्यो। ग्रीनलाई यसअघि २०२३-मा मुम्बई इण्डियन्सले १७.५ करोड़ रुपियाँमा खरीद गरेको थियो। उनले आफ्नो पहिलो सीजनमा ४५२ रन बनाएका थिए। यसरी उनले आरसीबी-को तर्फबाट पनि १३ वटा म्याच खेलिसकेका छन्। आईपीएलमा सबैभन्दा महँगो खेलाड़ीको रेकर्ड रिषभ पन्तको नाममा रहेको छ। उनलाई आईपीएल २०२५-को लिलामीमा लखनऊ सुपर जाइण्ट्सले २७ करोड़ रुपियाँमा खरीद गरेको थियो। यसरी श्रेयस अय्यर (२६.७५ करोड़ रुपियाँ) दोस्रो स्थानमा छन्। आईपीएल इतिहासमा ग्रीनपछि दोस्रो सबैभन्दा महँगो विदेशी खेलाड़ीको रेकर्ड अष्ट्रेलियाकै मिचेल स्टार्क (२४.७५ करोड़) को नाममा रहेको थियो। सनराइजर्स हैदराबादका हेनरिक क्लासेन (२३ करोड़ रुपियाँ) तेस्रो स्थानमा छन्।
लिलामीमा मोटो रकम हासिल गर्ने खेलाड़ीहरूमा श्रीलंकाका महीषा पाथिराना पनि सामेल छन्। यस पेस बलरको निम्ति केकेआर-ले १८ करोड़ रुपियाँ खर्च गऱ्यो। ईंग्ल्याण्डका लियाम लिविंगस्टोनलाई १३ करोड़ रुपियाँमा सनराइजर्स हैदराबादले हासिल गर्यो। बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमान ९.२० करोड़ रुपियाँको अनुबन्धमा केकेआर-मा सामेल भए। अष्ट्रेलियाई विकेटकीपर ब्याटर जोश ईंग्लिशलाई लखनऊ सुपर जाइण्ट्सले ८.६० करोड़ रुपियाँमा हासिल गऱ्यो। भारतीय स्पिनर रवि बिश्नोईको निम्ति राजस्थान रोयल्सले ७.२० करोड़ रुपियाँ खर्च गऱ्यो। गत लिलामीमा २३.७५ करोड़ रुपियाँ हासिल गर्ने अलराउण्डर भेंकटेश अय्यर यसपाली ७ करोड़ रुपियाँको बोलीमा आरसीबी-मा सामेल भए। गुजरात टाइटन्सले वेष्ट इण्डिजका दिग्गज अलराउण्डर जेसन होल्डरको निम्ति ७करोड़ रुपियाँ खर्च गऱ्यो। श्रीलंकाका ओपनिंग ब्याटर पाथुम निस्सांका ४ करोड़ रुपियाँमा दिल्ली क्यापिटल्समा सामेल भए।










