नेपाली साहित्य परिषद् सिक्किमको नेपालको सप्ताहव्यापी साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न

n6933010611765905964581920a45ba23010df0264cf8e585dfbf1162d4ebf479c7e6e0db027e7fed531257

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमको कार्यकारिणी समितिद्वारा नेपालमा आयोजना गरिएको सप्ताहव्यापी साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। उक्त टोलीको नेतृत्व परिषद्का महासचिव नीलम न्यौपाने ले गर्नुभएको थियो। यसबारे जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चा ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत दिएका छन्।
कार्यक्रमअनुसार टोलीले इटहरीस्थित स्वर्गीय धरणीघर दाहाल सांस्कृतिक केन्द्र को भ्रमण गरेको थियो। यस क्रममा स्वर्गीय दाहालका पुत्र ज्ञानेन्द्र दाहाल सँग भेटघाट गरी उपहारस्वरूप पुस्तक अर्पण गरिएको थियो। केन्द्रको गतिविधिबारे जानकारी लिँदै टोलीले स्वर्गीय दाहालले लेखेको ‘सिक्किमको इतिहास’ पुस्तकको चर्चा गरेको थियो। मूलतः सिक्किमका स्थायी बासिन्दा रहेका दाहाल पछि इटहरीमा बसाइँ सरेर त्यहीँबाट आफ्नो साहित्यिक यात्रालाई अघि बढाएका थिए।
स्वर्गीय दाहालका पुत्र ज्ञानेन्द्र दाहालले पिताबाट प्रेरणा लिएर इटहरीमा मोडल स्कूल स्थापना गरेका छन्। हाल उनी इटहरी इन्टरनेशनल कलेज तथा गोदावरी कलेज का निर्देशकका रूपमा कार्यरत छन्।
भ्रमणको क्रममा टोलीले काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) सँग भेटघाट गर्दै नेपाली साहित्यको विकास, संरक्षण तथा संवर्द्धनबारे विस्तृत छलफल गरेको थियो। साथै काठमाडौँको वानेश्वरस्थित श्री रत्न पुस्तकालय को भ्रमण गरी त्यहाँ आयोजित विशेष कार्यक्रममा सहभागी भयो, जहाँ साहित्यको वर्तमान अवस्थाबारे विचार–विमर्श गरियो।
यसैगरी, काठमाडौँको नागार्जुन नगरपालिकास्थित एसपी आशा पुस्तकालय कक्ष मा आयोजित स्वागत कार्यक्रममा परिषद्को कार्यक्षेत्र तथा नेपाली भाषा मान्यतामा परिषद्को भूमिकाबारे टोलीले जानकारी गराएको थियो।
टोलीले चितवनको सौराहास्थित थारू सांस्कृतिक केन्द्र को भ्रमण गरी थारू समुदायका सांस्कृतिक टोलीसँग अन्तरक्रिया गरेको थियो। साथै पोखरास्थित गोर्खा मेमोरियल म्युजियम को अवलोकन गर्दै परिषद्द्वारा प्रकाशित विभिन्न पुस्तकहरू संग्रहालयलाई उपहारस्वरूप प्रदान गरिएको थियो।
फर्कने क्रममा टोलीले काँकरीभिट्टामा त्रिफला राष्ट्रिय पुस्तकालय का अध्यक्ष प्रेमप्रकाश फलाहारी र उपाध्यक्ष रामप्रसाद दाहाल सँग भेटघाट गरी नेपाली साहित्यका विविध आयाममाथि छलफल गरेको थियो।
साहित्यिक भेटघाटका सबै कार्यक्रममा महासचिव न्यौपानेले परिषद्को स्थापना कालदेखि हालसम्मका गतिविधिहरूबारे प्रकाश पार्नुभएको थियो। टोलीमा महासचिव न्यौपानेका अतिरिक्त प्रचार सचिव जोसेफ लेप्चा, संयोजक रवि पौड्याल, कार्यकारिणी सदस्य पेम नर्बु शेर्पा र कुबेर विष्ट, कार्यालय सचिव चन्द्र दुलाल तथा कार्यालय सहायक टीका ढुङ्गेल सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement