गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमले आयामेली साहित्यका एक प्रमुख स्तम्भ वैरागी काइँला (तिलविक्रम नेम्बाङ) सँग १६ डिसेम्बर २०२५ का दिन परिषद्कै निज भवनमा शिष्टाचार भेटघाट कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको शुरुवात परिषद्का महासचिव नीलम न्यौपाने को स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि परिषद्का तर्फबाट कार्यवाहक अध्यक्ष नीवन लामीछाने ले साहित्यकार वैरागी काइँलालाई फूलगुच्छा र खदा अर्पण गर्दै सम्मानपूर्वक स्वागत गर्नुभयो।
आफ्नो मन्तव्यका क्रममा वैरागी काइँलाले यस्ता भेटघाट कार्यक्रमले नेपाल र भारत दुवै देशका साहित्यिक गतिविधिबारे जानकारी आदान–प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो। लेखकहरूले कठिनाइका बाबजुद पुस्तक प्रकाशन गरे पनि पाठक र बिक्रीको समस्या रहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। साथै, अनुवाद साहित्यको क्षेत्रमा पनि सक्रिय रूपमा कलम चलाएर नेपाली साहित्यको फाँटलाई अझ विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
शिष्टाचार भेटघाटका क्रममा उहाँले उपस्थित साहित्यकारहरूबाट सिक्किमेली साहित्यको वर्तमान अवस्थाबारे जानकारी लिएको र सन् २००२ मा आफूले परिषद् भवनको अवलोकन गरेको स्मरण गर्नुभयो।
यस सम्पूर्ण भेटघाट कार्यक्रमको संयोजन परिषद्का कोषाध्यक्ष जीएस सुब्बा ले गर्नुभएको जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चा ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।









