गान्तोक: सिक्किमका मुख्यमंत्री प्रेम सिंह तामाङ जोरेथाङमा सम्पन्न राज्यस्तरीय पूर्व–क्रिसमस उत्सव २०२५ मा सहभागी हुन पाउँदा अत्यन्तै हर्षित बनेका छन्। सोसियल मिडिया मार्फत मुख्यमंत्रीले भावविभोर शब्दबाट यस अवसरले विश्वास, सद्भाव र साझा उत्सवको भावनासहित जीवनका सबै क्षेत्रका मानिसहरूलाई एकसाथ ल्याउँदै सिक्किमको विविधताभित्रको एकतालाई सुन्दर रूपमा प्रतिबिम्बित गरेको बताएका छन्।

उनले अघि भने विश्वभर सम्मानित तथा विशिष्ट वक्ता डा. आचार्य विकास मासी जीलाई हार्दिक स्वागत गर्न पाउँदा म गौरवान्वित भएँ। उहाँको उपस्थिति अत्यन्तै प्रेरणादायी रह्यो। विनम्रता, ज्ञान र करुणामा आधारित उहाँका आध्यात्मिक शिक्षाले विश्वभर अनगिन्ती जीवनहरूलाई स्पर्श गरेको छ। साथै मुख्यमंत्रीले विश्वास, आशा र प्रेमका सन्देशहरूलाई आत्मस्पर्शी संगीतमार्फत सुन्दर रूपमा प्रस्तुत गर्दै कार्यक्रमलाई उचाइमा पुर्याउनु भएका प्रख्यात गायक श्री शेल्डन बङ्गेरा जी तथा उहाँको ब्यान्डप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।

यसैगरी शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सेवा तथा नैतिक नेतृत्वका क्षेत्रमा ख्रीष्टियन समुदायले सिक्किमको सामाजिक संरचना निर्माणमा अमूल्य योगदान पुर्याउँदै आएको र उहाँहरूका समावेशी संस्थानहरू र अनुशासित आस्थाले सबै समुदायबीच एकता, सद्भाव र भ्रातृत्वलाई थप सुदृढ बनाएको कुरा मुख्यमंत्रीले राखे। अन्तमा उनले प्रत्येक समुदायको गरिमा, अधिकार र हितको संरक्षणप्रति सरकार अडिग रहेको प्रतिबद्धता पुनः पुष्टि गर्दै एकता र पारस्परिक सम्मानको मार्गमा निरन्तर अघि बढिरहने प्रतिज्ञा गरेका छन्।










