सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा तरणजुबारी फूटबल क्लबले रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा तरणजुबारी एफसी-ले मेडन फूटबल एकाडमी, कलकत्ताविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। म्याचको दुवै हाफ चरम रोमाञ्चक रह्यो। विजेता टीमको तर्फबाट बिरेन प्रधानले ३२औं, नीरज कार्कीले ४१औं र रोमन भुजेलले ७८औं मिनटमा गोल गरे। यसरी मेडन फूटबल एकाडमीको तर्फबाट अजय मण्डलले तेस्रो मिनट र ४५औं मिनटमा गोल गरे। रोमन भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने शुरुवाती राउण्डको अन्तिम म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड स्पोर्ट्स क्लब, कलकत्ताबीच जम्काभेट हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।








