मिरिक: रिपोर्टर्स क्लब अफ् मिरिकका अध्यक्ष मुस्कान खेसहाङ राई सम्मानित भएका छन्। भारत-नेपाल सीमा पानीट्याङ्कीमा आयोजित साकेला उँधौली पर्वको अवसरमा खेसहाङलाई सम्मान जनाइएको छ। पानीट्याङ्की राई समाज सेवा समितिले आयोजना गरेको उधौली पर्वको अवसरमा समितिको पक्षबाट उनलाई समाजिक भूमिका र पत्रकारितामा दिएको योगदानको कदर गर्दै सम्मान जनाइएको थियो। उँधौली पर्वको एक औपचारिक कार्यक्रममा फाँसीदेवा समष्टिका विधायक दुर्गा मुर्मु, किरात खम्बु राई सांस्कृति संस्थानका प्रमुख संरक्षक सीआर राई, गोर्खा जनजाति महासंघका अध्यक्ष एमएस राई, राजनीतिक कर्मी रामकुमार छेत्री तथा समितिका पदाधिकारीहरूको उपस्थितिमा उनलाई सम्मान पत्र प्रदान गरिएको थियो।

यस अवसरमा रिपोर्टर्स क्लब अफ् मिरिकका अध्यक्ष मुस्कान खेसहाङ राईले राई समाज सेवा समिति पानीट्याङ्कीले आफूलाई सम्मान जनाएकोमा कृतज्ञता प्रकट गर्दै यो सम्मानले आफूमा अझ गम्भीर जिम्मेवारी बोध गराएको बताएका थिए। किरात खम्बु राई यस क्षेत्रको मूलवासी रहेको उल्लेख गर्दै भाषिक, सांस्कृतिक परम्परालाई जीवन्त राख्न अझ बढी पहल गर्नु पर्नेमा पनि उनले जोड दिएका थिए।








