खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक दुलाल चन्द्र मन्ना (मन्ना सर) को निधन भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको निधन कोलकोताको बेहालास्थित निजी बासस्थानमा ६७ वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ। उनले तीनधारे हाई स्कूलमा १९८४ सालदेखि शारीरिक शिक्षा विषयमा शिक्षकको रूपमा कार्य शुरु गरेका थिए। उनी २०१३ देखि २०१८ सम्म यस विद्यालयमा शिक्षक प्रभारीको कार्य गरेर २०१८ सालमा अवकाशप्राप्त भएका थिए। उनको केही दिन अघि ह्रदयघातको कारणले उपचार चलिरहेको र आज निधन भएको जानकारी प्राप्त भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रभारी शिक्षिका रञ्जना प्रधानले पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेकी छन्। उनले दुलालचन्द्र मन्नाको निधनले तीनधारे क्षेत्रका शिक्षा क्षेत्रमा ठूलो क्षति भएको र विद्यालय परिवार शोकित बनेको बताएकी छन्।








