खरसाङ: खरसाङ निवासी सामाजिक अभियन्ता एवं दार्जिलिङ वेलफेयर सोसाइटीको कार्यकारी सदस्य सन्तकिशोर गुरुङले एनएच ११० का परियोजनाहरूमा स्थानीय मजदुर र ढुवानी व्यवसायीको आजीविका सुरक्षित गर्न एनएचआईडीसीएल समक्ष माग गरेका छन्। सोमवार उनले एनएचआईडीसीएलको कार्यकारी निर्देशकसँग भेटमा उक्त कुरा उठाइएको जानकारी प्राप्त भएको छ। उक्त भेटपछि एनएच ११० सडक खण्डमा भइरहेका विकास तथा निर्माण कार्यहरूले हजारौँ स्थानीय शीपयुक्त तथा अशीपयुक्त मजदुर, सामान ढुवानी गर्ने गाडी चालक, सहायकहरू, स्थानीय ठेकेदार तथा अन्य श्रमिकहरूको आजीविकालाई प्रत्यक्ष रूपमा प्रभावित गर्दै आएको बताएका छन्। उनले हिमाली क्षेत्रमा रोजगारीका अवसर सीमित भएका कारण एनएचआईडीसीएलद्वारा गरिने कामहरू अनेकौँ परिवारहरूको मुख्य आयस्रोत रहेको छ पनि जानकारी गराएका छन्। यसै महत्त्वपूर्ण विषयलाई लिएर दार्जिलिङ वेलफेयर सोसाइटीका कार्यकारी सदस्य तथा सामाजिक अभियन्ता सन्ता किशोर गुरुङले सोमवार एनएचआईडीसीएलको कार्यकारी निर्देशकसँग भेटघाट गरी विशेष रूपमा ध्यानाकर्षण गराएका छन्। भेटका क्रममा उनले एनएच ११० अन्तर्गत भइरहेका तथा आगामी सबै परियोजनामा स्थानीय मजदुर, ढुवानी व्यवसायी तथा अन्य श्रमिकहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बारे स्पष्ट रूपमा आग्रह गरेका छन्। यस विषयमा सन्तकिशोर गुरुङले भने, “स्थानीय जनशक्तिको समावेशले केवल उनीहरूको रोजगारी सुरक्षित हुन्छ मात्र होइन, परियोजनाको दिगोपन, कार्य गति र स्थानीय समर्थन पनि बढ्छ।”
एनएचआईडीसीएलको कार्यकारी निर्देशकले प्रस्तुत विषयलाई सकारात्मक रूपमा सुनेर आवश्यक अध्ययन तथा समन्वय गर्ने आश्वासन दिएका छन्।
उनले भने, ‘एनएचआईडीसीएल तथा सम्बन्धित सरकारी निकायहरूले यो महत्वपूर्ण विषयलाई गम्भीरतापूर्वक लिएर स्थानीय समुदायको हितमा उचित कदम चाल्नेछन् भन्ने विश्वास लिन्छौं।’








