सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा आर्मी रेडले सजिलैसँग क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा आर्मी रेडले सोरेन ब्रदर्स (झारखण्ड)-विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट उमेश तीर्कीले १९औं, रोशन बीके-ले ३२औं, कप्तान दीपक सिंहले ३९औं, रेभोन सुन्दासले इञ्ज्युरी टाइमको पहिलो मिनट र अजीत यादवले ६५औं मिनटमा गोल गरे। अजीत यादवलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने म्याचमा मेडन फूटबल एकाडमी, काेलकत्ता र तरुञ्जाबारी फूटबल क्लबबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










