हैदराबाद: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको तीनदिने भारत यात्रा शनिवार कलकत्ताबाट शुरु भयो। काेलकत्तामा पहिलो दिन सल्ट लेक स्टेडियममा हजारौंको संख्यामा उपस्थित प्रशंसकहरूले उनलाई भव्य स्वागत जनाए तर अन्तमा त्यही भीड़ले मेस्सीको एक झलक देख्न नपाएको आरोप लगाउँदै तोड़फोड़ो शुरु गर्दा स्थिति तनाउपूर्ण बन्यो। प्रशंसकहरूका उपद्रोलाई छोड़ेर काेलकत्तामा पहिलो दिन मेस्सी अनि फूटबलप्रेमीहरूका निम्ति यादगार रह्यो। २०२२ फिफा वर्ल्ड कप च्याम्पियन अर्जेण्टिनाई टीमका कप्तानलाई शहरमा अभूतपूर्व सम्मान हासिल भयो। शहरमा स्थापित उनको ७० फूटको प्रतिमाले भारत मात्र नभएर सम्पूर्ण विश्वकै ध्यान आकर्षित गऱ्यो। यसलाई विश्वका कुनै पनि फूटबलरको सबैभन्दा अग्लो प्रतिमा बताइएको छ। मेस्सीले सुरक्षा कारणहरूले गर्दा होटलबाट नै रिमोट कण्ट्रोलद्वारा भर्चुअली यस भव्य प्रतिमाको अनावरण गरे। विशाल प्रतिमालाई प्रसिद्ध मूर्तिकार मिण्टू पालले लगभग ४० दिनमा तयार गरेका हुन्। फलामले बनिएको यस प्रतिमामा मेस्सीलाई विश्व कप ट्रफीको साथ देखिएको छ। यस ऐतिहासिक अवसरमा बलीवुड नक्षत्र तथा स्वयंलाई मेस्सीका प्रशंसक बताउने शाहरुख खान पनि उपस्थित थिए। मेस्सीको सम्मानमा आज सल्ट लेक स्टेडियम बेहुली झैं सिंगारिएको थियो। लगभग ८५ हजार दर्शक क्षमता भएको यस स्टेडियममा अधिकांश दर्शक नै मेस्सी लेखिएको अर्जेण्टिनाको १० नम्बर जर्सी लगाएर आएका थिए। शनिवार डायमण्ड हार्बर एकादश र मोहन बगान एकादशबीच प्रदर्शनी म्याच पनि खेलियो। त्यस म्याचमा धेरै पूर्व फूटबलरहरूले पनि हिस्सा लिए। उल्लेखनीय छ, मेस्सी शुक्रवार अबेर राति काेलकत्ता पुगे। हवाईअड्डामा उनलाई स्वागत जनाउन भारी संख्यामा प्रशंसकहरू भेला भएका थिए। मेस्सी हवाईअड्डाबाट सीधै होटल गए। मेस्सी यसअघि एकपल्ट २०११ मा भारत आएका थिए। काेलकत्तामा यादगार दिन बिताएपछि मेस्सीले हैदराबाद प्रस्थान गरे।

तेलंगनाका मुख्यमन्त्री रेवन्त रेड्डी र लोकसभामा विपक्षका नेता राहुल गान्धी पनि मेस्सीसँग मैदानमा ओर्लिए। राजीव गान्धी इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको प्रदर्शनी म्याचको आनन्द लिन हजारौंको संख्यामा प्रशंसकहरू उपस्थित थिए। मेस्सीले म्याचमा हिस्सा लिनको साथै फूटबललाई आफ्नो चमत्कारी किकद्वारा दर्शकदीर्घामा पुऱ्याएर भरपूर मनोरञ्जन प्रदान गरे। मेस्सीसँग उनका साथी फूटबलर सुआरेज र रोड्रिगो डी पल पनि भारत आएका छन्। मेस्सीले यस यात्रामा मुम्बई र दिल्ली पनि जानेछन्।










