गान्तोक: राष्ट्रिय प्रविधि संस्थान (एनआईटी) सिक्किमले आगामी १५ डिसेम्बरमा दक्षिण सिक्किमको राभङलास्थित तथागत स्थल (बुद्ध उद्यान) मा आठौँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। सन् २०२५ मा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरूको शैक्षणिक उपलब्धिको उत्सवस्वरूप आयोजना हुने समारोहमा विभिन्न सङ्कायका विद्यार्थीलाई डिग्री प्रदान गरिनेछ।
उक्त जानकारी आज प्रेस इन्फर्मेशन ब्युरो (पीआईबी) ले सार्वजनिक गरेको हो।
समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर प्रमुख अतिथिका रूपमा उपस्थित भई दीक्षान्त सम्बोधन गर्नेछन्। साथै, भारतीय प्राविधिक संस्था (आईआईटी) खडगपुरका पूर्व निर्देशक तथा सिक्किम सरकारका पूर्व क्याबिनेट सचिव जी.पी. उपाध्याय विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
दीक्षान्त समारोहको अध्यक्षता एनआईटी सिक्किमको बोर्ड अफ गभर्नर्सका अध्यक्ष रमेशकुमार सारोगीले गर्नेछन्। संस्थानका निर्देशक प्रो. महेशचन्द्र गोविलले प्रमुख उपलब्धि तथा विगत वर्षहरूमा भएका विकासक्रम समेट्दै वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यस वर्ष एनआईटी सिक्किमले ८ जनालाई विद्यावारिधि (पीएचडी), १५ जनालाई एम.टेक, ७ जनालाई एमएससी तथा १३४ जनालाई बी.टेक डिग्री प्रदान गर्नेछ। शैक्षणिक उत्कृष्टताका लागि विभिन्न विधामा सातवटा स्वर्ण पदक पनि प्रदान गरिनेछ।
भारत सरकारको शिक्षा मन्त्रालय अन्तर्गत सन् २०१० मा राष्ट्रिय महत्त्वको संस्थानका रूपमा स्थापना भएको एनआईटी सिक्किमले शैक्षणिक, अनुसन्धान तथा सामुदायिक जनसम्पर्कका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। गुणस्तरीय शिक्षा र प्रभावकारी अनुसन्धानमार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने प्रतिबद्धता संस्थानले व्यक्त गरेको छ।










