विवादपछि बिरेन्द्र प्रसादको स्पष्टीकरण, ‘मेरो भनाइ तोडमरोड गरी प्रस्तुत गरियो’

n692943157176564915957112f206ec916b57f462f6d715cd2e80109033a4441d2e60165c15bb1b745ba5f1

गान्तोक: सिक्किम बिहारी जागरण मञ्चको स्थापना दिवस समारोहमा दिएको अभिव्यक्तिपछि विवादमा तानिएका बिरेन्द्र प्रसादले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्ष रत्नलाल सापकोटाले गलत तथ्य सार्वजनिक गरेर आफ्नो ज्यानलाई जोखिममा पार्ने काम गरेको आरोप समेत लगाएका छन्।
गत साता रानीपुल नजिक सरम्सा गार्डनमा सम्पन्न सिक्किम बिहारी जागरण मञ्चको ३२औं स्थापना दिवस समारोहमा प्रसादले सिक्किममा बसोबास गर्ने बिहारी समुदायको कथित हितका नाममा केही मागहरू अघि सारेका थिए। ती मागहरूलाई ‘सिक्किम विरोधी’ भन्दै चौतर्फी आलोचना भएपछि विवाद चर्किएको थियो। यसैबीच मञ्चले उनलाई निष्कासन गरेको खबर पनि सार्वजनिक भएको छ।
यी विषयमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रसादले आफ्नो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा छाँटकाँट गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको दाबी गरे। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको पूरा भिडियो हेर्न आग्रह गर्दै आफूले लोकतान्त्रिक देशका नागरिकको हैसियतमा सरकारसमक्ष अधिकारका विषय उठाएको बताए। उनले आफूले कहिल्यै पनि सीओआई वा सिक्किम सब्जेक्टको माग नगरेको स्पष्ट पारे।
प्रसादले सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्ष सापकोटाले आफूमाथि मनगढन्त आरोप लगाएको र त्यसका कारण आफ्नो ज्यान जोखिममा परेको बताए। उनले यदि आफूलाई कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सापकोटाको हुने चेतावनी दिए। साथै, सापकोटाले आफ्नो लाखौं रुपैयाँ डुबाइदिएको आरोप लगाउँदै पैसा फिर्ता नपाए कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिए।
यसैगरी, मञ्चका केही सदस्यहरूले लगाएका आरोपहरूलाई खण्डन गर्दै प्रसादले स्थापना दिवस समारोहको कार्यक्रम सूची पहिल्यै तय भइसकेको र आफूले जबरजस्ती बोलेको भन्ने आरोप असत्य रहेको बताए। उनले मञ्चका केही सदस्यहरूको राजनीतिक आकांक्षा पूरा नभएपछि आफूलाई लक्षित गरिएको दाबी पनि गरे।

About Author

Advertisement