नैताममा राज्यस्तरीय साकेवा २०२५ भव्य, मुख्यमन्त्री तामाङद्वारा वार्षिक आयोजनाको आह्वान

n69294315817656489496047ce22ab06dfa2a4de36682480e1cde50244db261d234c5b54c5281d798e634f3

गान्तोक: अखिल किरात राई संघ (एकेआरएस) को तत्वावधानमा स्यारी निर्वाचन क्षेत्रअन्तर्गत पाब्युक, नैताममा आज राज्यस्तरीय साकेवा समारोह २०२५ भव्य रूपमा आयोजना गरिएको छ। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले समृद्ध सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले हरेक वर्ष नैताम गाउँमा साकेवा समारोह आयोजना गर्न आह्वान गर्दै सिक्किम विविधतामा एकताको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे। साथै, युवापुस्तालाई आफ्नो संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको जिम्मेवारी लिन आग्रह गरे।
मुख्यमन्त्रीले शिक्षाक्षेत्रमा राज्य सरकारले थालेका विभिन्न पहलको जानकारी दिँदै छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउने दिशामा सरकार क्रियाशील रहेको बताए। उनले राज्य सरकारद्वारा ‘धरोहर संरक्षक पुरस्कार’ स्थापना गरिने घोषणा गर्दै उक्त पुरस्कार प्रत्येक दुई वर्षमा १५ अगस्टका दिन प्रदान गरिने जानकारी दिए। पुरस्कार संस्कृति र धरोहर संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने उनले स्पष्ट पारे।
यसअघि सम्बोधन गर्दै क्षेत्रीय विधायक तेन्जिङ नर्बु लाम्टाले संस्कृति र परम्पराको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै सामुदायिक सद्भाव प्रवर्द्धनमा एकेआरएसले खेलेको भूमिकाको प्रशंसा गरे। उनले क्षेत्रमा पर्यटन विकासका प्रशस्त सम्भावना रहेको जनाउँदै यस क्षेत्र भविष्यमा महत्वपूर्ण पर्यटन केन्द्र बन्न सक्ने आशा व्यक्त गरे। साथै, हालसम्म भएका विकास कार्यको विवरण प्रस्तुत गर्दै निरन्तर सहयोगका लागि मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।
एकेआरएसका अध्यक्ष डा. बिमल कुमार राईले राई समुदायको इतिहास र सांस्कृतिक विरासतबारे प्रकाश पार्दै नैताममा अब साकेवा समारोह वार्षिक रूपमा आयोजना गरिने जानकारी दिए। उनले साकेवा पर्वको सांस्कृतिक, आध्यात्मिक र सामाजिक महत्व तथा किरात राई समुदायको परम्परा संरक्षणमा यसको भूमिकाबारे समेत जानकारी गराए।
समारोहको सुरुवात साकेवा पर्वसँग सम्बन्धित प्रमुख अनुष्ठानबाट गरिएको थियो। मुख्यमन्त्री तामाङले महोत्सवका स्टलहरू तथा माङखिमको पनि अवलोकन गरेका थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईसहित विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement