सोनादा: सोनादादेखि पचेङ रंगमूक सिडर्स मुण्डा मुख्य मार्गको निर्माण कार्य आगामी १५ दिसम्बर सोमबारदेखि शुरू हुने भएको छ। उक्त रोड निर्माणको कार्य शुरु हुने भएको कारणले क्षेत्रको जनसाधारण लागायत गाड़ी चालक, मालिकवर्गमा पनि कुनै प्रकारको असुविधा नहोस् भन्नाले समय तालिका सबै सबैको सल्लाह अनुरूप राखिएको छ। उक्त रोडको निर्माण कार्य शुरु गर्नलाई लोवर सोनादास्थित भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको कार्यालयमा सभा सम्पन्न भएको छ। उक्त सभामा यस क्षेत्रको विभिन्न चालक संगठनहरुका प्रतिनिधिहरु साथै विभिन्न समाजका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा क्षेत्रीय सभासद अनोश थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा अवकाशप्राप्त अनरेरी कप्तान एलबी राई, सोनादादेखि पचेङ, रंगमुक, सिडर्स, मुण्डा, मुख्य मार्ग संरक्षण समितिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभाको निर्णय अनुसार बिहान ९:३० बजीदेखि १२:३० सम्म बाटो पूर्णरूपमा बन्द रहने भएको छ। यसको साथै बिहान ९:३० भित्रको समयसम्म बाटो खुल्ला रहने भएको छ। दिउँसो १२:३० देखि १:३० सम्म खाना खाने छुट्टी रहनेछ सो समय बाटो खुल्ला रहने भएको छ। यसको साथै दिउँसो १:३० बजीदेखि ४:३० सम्म बाटो पूर्ण रूपमा बन्द रहने भएको छ। उक्त समय तालिकालाई सबैले पालन गर्नलाई अनुरोध गरिएको छ।










