कलियुग अवतार भगवान श्री सत्य साई बाबाको एक शताब्दी जन्मजयन्तीको पावन अवसरमा युवा गायक तथा संगीतकार लाक्पा छिरिङ तामाङको नयाँ गीत “निर्मोही” औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
खरसाङ अम्बटे कमानका प्रतिष्ठित साहित्यकार स्वर्गीय परसात राई ‘अम्बटे’को शब्द रचनामा आधारित यस गीतलाई चर्चित संगीतकार राजु सुन्दासले संगीतबद्ध गरेका हुन्। गीतको रेकर्डिङ खरसाङका वरिष्ठ संगीतकर्मी महेश्वर लामा र उपेन्द्र प्रधानको सहभागितामा सम्पन्न भएको हो। संगीत संयोजन स्वयं संगीतकार राजु सुन्दासले गरेका छन्।
मेलोडी म्युजिक र सोनिक म्युजिक स्टुडियो, खरसाङमा रेकर्ड गरिएको यस गीतलाई काठमाडौँस्थित एभान म्युजिक स्टुडियोबाट संगीतकार किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको प्रायोजन प्रमिला तामाङले गरेकी हुन्।
खरसाङको अम्बटे कमानमा पिता स्वर्गीय प्रदीप तामाङ र आमा सुधा वाइबाको कोखबाट जन्मिएका गायक लाक्पा छिरिङ तामाङ यसअघि ‘सुन्दरी’, ‘साई गंगोत्री’, ‘निश्चल नयन’, ‘ताजमहल’ लगायत थुप्रै गीत तथा भजनहरूमा स्वर भरिसकेका छन्। उनले अन्य धेरै नयाँ गीत तथा भजनहरूमा पनि संगीत संयोजन गरिसकेका छन्।
उनको आफ्नै युट्युब च्यानलमार्फत आज अपराह्न १ बजे नयाँ गीत “निर्मोही” सार्वजनिक गरिएको हो। युवा सर्जक पुरण राईले तयार पारेको लिरिकल भिडियोसहित सार्वजनिक गरिएको यस गीतमार्फत गायक तामाङले शब्दकार स्वर्गीय परसात राईको परिवार, संगीतकार राजु सुन्दास, महेश्वर लामा, उपेन्द्र प्रधान, किशोर थापा तथा गीत निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण शुभेच्छुक र आफन्तजनप्रति कृतज्ञता प्रकट गरेका छन्।
नयाँ कोशेली “निर्मोही”ले श्रोतावर्गबाट प्रशस्त माया पाउने विश्वाससमेत गायक लाक्पा छिरिङ तामाङले व्यक्त गरेका छन्।










