दार्जिलिङ: दार्जिलिङ र कालेबुङका स्थानीय वाइल्डलाइफ फोटोग्राफरहरूले दार्जिलिङ मेलो टी फेस्टमा दुर्लभ तथा विलुप्त हुँदै गइरहेका चराहरूका उत्कृष्ट फ्रेमहरू प्रदर्शन गरेका छन्।जनचाहनाअनुसार कसैले पनि यी तस्विरहरू नजिकै पुगेर अवलोकन गर्न तथा किन्न सक्ने व्यवस्था मिलाइएको छ।दार्जिलिङ पुलिसको आयोजनामा भइरहेको ‘दार्जिलिङ मेलो टी फेस्ट २०२५’ १२ देखि १४ दिसम्बरसम्म चौरस्ता परिसरमा भव्य रूपमा सम्पन्न हुँदैछ। १२ डिसेम्बरका दिन जीटीए डेपुटी चेयरम्यान राजेश चौहान, दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी र दार्जिलिङ एसडीओ रिचार्ड लेप्चाको बाहुलीबाट रिबन काट्दै बर्ड्स स्टलको औपचारिक उद्घाटन गरिएको थियो।

उद्घाटन समारोहपछि फोटोग्राफर गणेश प्रधान, सन्जोक देवान र केशर मोक्तानले हाम्रो क्षेत्रमा तीव्र रूपमा घट्दै गएको चराहरूको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले यो सहभागिता महत्वपूर्ण भएको बताए। यसको साथै, दार्जिलिङ, कालेबुङ, डुवार्स क्षेत्रमा पाइने चराहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, तथा बर्ड–वाचिङ पर्यटनलाई प्रोत्साहन गर्न पनि यस्तो कार्यक्रमले ठूलो टेवा पुग्ने उनीहरूको भनाइ रह्यो।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै स्टल प्रदान गरेर सहयोग गरेकोमा दार्जिलिङ पुलिस एसपी प्रवीण प्रकाश (आईपीएस) प्रति फोटोग्राफरहरुले विशेष आभार व्यक्त गरेका छन्। दार्जिलिङ, कालेबुङ, सिलिगुडी र डुवार्स क्षेत्रमा खिचिएका चराको आकर्षक तस्विरहरू यस मेलो फेस्टमा प्रदर्शित गरिएको छ।

फोटोग्राफरहरूमा नोएल फर्निङ, सन्जोक देवान, गणेश प्रधान, पराग गुरुङ, प्रकाश सी. शेर्पा, दिपन्कर लिम्बु, मिङ्मा लेप्चा, सुजित लामा, आनन्द सुब्बा, केशर मोक्तान, सुरज साह, बरुण राणा, करुण राई तथा अन्य फोटोग्राफरहरूको उत्कृष्ट कलाकृत फोटोहरुलाई मेलो टी फेस्ट बर्ड्स स्टलमा समावेश गरिएको छ।










