सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको पाँचौं संस्करणमा युनाइटेड एफसी दार्जीलिङले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले एकाडमी नाइट्स, गान्तोकलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल गणेश लिम्बुले ६०औं मिनटमा गरे। गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र धिमाल फूटबल क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल म्याच २८ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू सिमुलबारी खेल मैदानमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।









