एसएबीए को विशेष आम सभा सम्पन्न

n6924074261765297073808d7667f1eb9bf0f439615fc4ba596a25467b9d26127db4a2242d09678ca13e259

मङ्गन: सिक्किम अमेचुअर बक्सिङ एसोसिएशन (एसएबीए) को विशेष आम सभा सोमबार माङशिला, मङ्गनमा सम्पन्न भएको छ। मङ्गन जिल्ला बक्सिङ एसोसिएशन (एमडीबीए) र एसएबीएको संयुक्त पहलमा आयोजित उक्त सभामा एसएबीए अध्यक्ष अर्जुन अवार्डी जसलाल प्रधान, मुख्य प्रशिक्षक द्रोर्णाचार्य अवार्डी सन्ध्या गुरुङ, उपाध्यक्ष बीटी भोटिया, महासचिव अन्जना थापा, एमडीबीएका अध्यक्ष पाल्देन एन. लाचुङ्गपा, महासचिव गणेश कुमार सुब्बा लगायत पदाधिकारीहरूको उपस्थिति थियो।
बैठकमा मङ्गन जिल्ला तथा सिक्किम राज्यभरि बक्सिङ खेलको समग्र विकासका विषयमा व्यापक छलफल गरिएको थियो। साथै, सबै उमेर समूहका लागि राज्य तथा राष्ट्रिय स्तरका प्रतिस्पर्धा आयोजनाबारे पनि महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरियो।
एसएबीए अध्यक्ष जसलाल प्रधानले विगतका वर्षहरूमा सिक्किमका युवाहरूले रक्षा बल तथा पुलिस सेवामा बक्सिङमार्फत हासिल गरेका अवसरबारे जानकारी दिएका थिए। उनले बक्सिङ खेललाई तृणमूल स्तरमै प्रोत्साहित गर्न सबैलाई आव्हान गरेका थिए।
त्यसअघि एमडीबीए अध्यक्ष लाचुङ्गपाले मङ्गन जिल्लामा बक्सिङपूर्वाधार निर्माण तथा खेल सुविधाको समृद्धिकरणका लागि सरकारसमक्ष आवश्यक प्रस्ताव पेस गर्ने तयारीबारे बैठकलाई जानकारी गराए। उनले मङ्गन जिल्लाले राज्य तथा राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्ने अनेकौं बक्सर जन्माएको उल्लेख गर्दै सिक्किम सरकारप्रति निरन्तर सहयोगका लागि आभार व्यक्त गरे।
यस अवसरमा सोरेङ जिल्लाबाट सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब तथा रुम्बुकबाट आएका विशेष अतिथिहरू पनि उपस्थित थिए। उपस्थित अतिथिहरूले जमीनी स्तरमै बक्सिङको विकास र विस्तारका लागि महत्त्वपूर्ण सुझावहरू राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement