खरसाङ: खरसाङमा आगामी २ अक्टोबरको दिन हुने भनिएको फूलपाती समारोहको लागि आज खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरूले सभा सम्पन्न गरेको छ। उक्त सभा फूलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङको अध्यक्षता र सह संयोजक गजेन प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, युवा शक्ति खरसाङ टाउन कमिटीको सचिव बन्धन लामा, नारी शक्ति खरसाङ टाउन कमिटीको सचिव दिपा छेत्री, टाउन कमिटीको सभापति राजु शर्मा, खरसाङ महकुमा समितिको उप सभापति शंकर रावत, माइनोरिटीको खरसाङ महकुमा समितिको संयोजक फिरोज खान आदिले वक्तव्य दिएका थिए।

त्यसरी नै सभालाई विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले पनि सम्बोधन गर्दै विभिन्न सल्लाह र सुझावहरू राखेका थिए। सभामा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, भागोप्रमो खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्री, सांगठनिक सचिव गुञ्जन शर्मा, फूलपाती समारोह समितिको कोषाध्यक्ष सञ्जय प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए।यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै फूलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङले आज फूलपाती समारोह समितिको सभा खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूलाई लिएर सम्पन्न गरिएको छ। उक्त सभामा खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले राम्रो राम्रो सुझावहरू दिएको र त्यही अनुसार हामी कार्यक्रम गर्नेछौं भनी बताएका छन्। उनले कतिपय सुझावहरूलाई भने समयको अभावको कारणले गर्दा पालन गर्न सकेनौं त्यसको लागि हामी क्षमाप्रार्थी छौं तर हामी सबै संघ संस्थाहरूलाई समेटेर नै फूलपाती समारोह आयोजना गर्नेछौं भनी बताएका छन्। त्यसरी नै समारोहको सह संयोजक गजेन प्रधानले पनि विस्तृत रुपमा जानकारी गराएका छन्।