श्रमिकहरूको हितमा आगामी दिनमा केन्द्र सरकारले ठूलो घोषणा गर्नसक्छ: राजु विष्ट
दार्जिलिङ: आज दार्जिलिङमा जोइन्ट फोरमको आयोजनामा चियाबारी श्रमिकहरूलाई एकै किस्तामा बीस प्रतिशतको दरले बोनस वितरण गरिनुपर्छ भन्ने मांगमा विराट रैलीको आयोजना गरिएको छ। राज्य सरकारले श्रमिकहरूको बोनस दुई किस्तामा बीस प्रतिशत वितरण गर्ने घोषणाको विरोधमा उक्त रैली निकालिएको छ। उक्त विराट रैलीलाई जोइन्ट फोरमको राजनैतिक दलहरूका ट्रेड युनियनहरूको प्रतिनिधिहरूले अगुवाई गरेका थिए। रैलीमा हाम्रो पार्टी, गोजमुमो, भारतीय जनता पार्टी, सीपीआईएम, क्रामाकपा, गोरामुमोकी नेतृत्वहरूले भाग लिएका थिए। तर उक्त रैलीमा राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसको ट्रेड युनियन अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको प्रतिनिधिहरूले भाग लिएनन्।

दार्जिलिङमा निकालिएको रैलीमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट, दार्जिलिङका भाजपा विधायक निरज जिम्बा, सीपीआईएमबाट समन पाठक, दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेस पोर्तेल, क्रामाकपाबाट सुनिल राई आदिको विशेष उपस्थिति रहेको थियो। जोइन्ट फोरमको आयोजनामा सम्पन्न उक्त रैलीको मुख्य उद्देश्य नै चियाबारी श्रमिकहरूको लागि एतै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिनु पर्ने मांग रहेको थियो। उक्त रैली दार्जिलिङको जीडीएनएस भवन नजिकदेखि शुरु भएर दार्जिलिङ जिल्ला शासकको कार्यालयसम्म पुगेर अन्त्य गरिएको थियो। यस अवसरमा जोइन्ट फोरमको पदाधिकारीहरूले जिल्ला शासकलाई ज्ञापन पत्र पनि बुझाइएका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी दार्जिलिङका भाजपा सांसद राजु विष्टले जीटीए चिफ् भएर पनि चियाबारी श्रमिकहरूको समस्या समाधान गर्नलाई मेरो जिम्मेवारी होइन भनेर भन्छ तर केवल भष्टचार गर्न र सिन्टेक्स भर्न मात्र खोज्छ भने पदबाट राजीनामा दिनुपर्छ भनी बताएका छन् । उनले बोनस विषयमा जोइन्ट फोरमको कार्यलाई समर्थन गर्छु भन्दै जीटीए र राज्य सरकारको कोल्टे नीति, अन्याय र अत्याचार अब चल्दैन, शोषण र अत्याचार गर्नेहरूको अन्त्य अवश्य छ भनी बताएका छन्।

पत्रकारहरूले सासंद भएको नातामा के गर्नहुन्छ भनी सोधिएको प्रश्नको उत्तरमा सासंद राजु विष्टले अहिले दार्जिलिङ पहाड़को ८७ वटा चियाबारीहरूको अवस्था राम्रो छैन भन्दै चियाबारीहरूको लागि आगामी दिनमा केन्द्र सरकारले केही ठूलो घोषणा गर्नसक्छ भनी बताएका छन्। उनले अघि भने, ‘चियाबारी श्रमिकहरूको हितमा केन्द्र सरकारले पारित गरेको चारवटा कानूनहरू राज्य सरकारले चालु गरेको छैन। तर राज्य सरकारले जति नै रोक्न खोजे पनि श्रमिकहरूको हितमा यी कानूनहरू लागु हुने नै छ।’
पत्रकारहरूलाई हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड र दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेस पोर्तेलले पनि सम्बोधन गरेका थिए।