गोर्खाल्याण्ड हाम्रो भिजन हो अनि यो भिजन कहिले पनि मेट्न हुँदैन: अजय एडवर्ड्स

दार्जिलिङ: इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सले आज टुङ्सुङ समरिक पानीस्थित गोर्खाल्याण्ड पूलको उद्घाटन गरेका छन्। यस अवधि उनले गोर्खाल्याण्ड पूलले गोर्खाहरूको दीर्घकालीन मागलाई ताजा बनाई राख्नेछ भनी बताए। यस अवसरमा उनले भने, ‘जोरबंगला समष्टि अन्तर्गत तुङसुङ खोलामा नव निर्मित गोर्खाल्याण्ड पूलको आज विधिवत उदघाटन गर्न पाएकोमा धेरै खुशी लागेको छ। धेरैले सोच्छ पूलको नाम गोर्खाल्याण्ड किन राखेको भनेर। गोर्खाल्याण्ड हाम्रो भिजन हो अनि यो भिजन कहिले पनि मेट्न हुँदैन।गोर्खाल्याण्डको नाममा गरिएको आन्दोलनहरूमा धेरैले प्राणको आहुति दिएको छ। जनताले धेरै दुःख पाएको छ। गोर्खाल्याण्ड गोर्खा जातिको मुटुको धड्कन हो, हाम्रो जातिको चिन्हारी हो, गोर्खाहरूको मौलिक अधिकार हो। गोर्खाल्याण्ड गोर्खाहरूको भिजन हो अनि यो भिजनलाई हामीलाई कहिले पनि बिर्सिनु हुँदैन।’

ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले यो गोर्खाल्याण्ड पूलको निर्माण राज्य सरकार, केन्द्र सरकार, जीटीए सरकार साथै जिल्ला प्रशासनले निर्माण गरेको होइन, जनताले बनाएको पूल हो भनी बताएका छन्।










