विभिन्न क्षेत्रमा योगदान दिने १० जना विशिष्ट व्यक्तिहरू विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित
खरसाङ: खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी महोत्सव २०२५ खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न भएको छ। सन् १९२५ मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको सय वर्ष पूरा भएको अवसरमा आयोजित शतवार्षिकी समारोह आयोजना गरिएको छ। तीन चरणमा आयोजित कार्यक्रममा पहिलो चरणमा खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्राको आयोजना गरिएको थियो भने दोस्रो चरणमा सन्त अल्फन्सेस विद्यालयमा विश्वकर्मा शताब्दी सम्मानद्वारा दशजनालाई सम्मानित गरिएको छ। उक्त शतवार्षिकी समारोहको अध्यक्षता खरसाङ विश्वकर्मा समाजको सभापति निर्मलकुमार गहतराजको अध्यक्षतामा अनि एक सय वर्ष नाघेका वयोवृद्ध डीएस दर्नालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। शतवार्षिकी समारोह समितिको संयोजक विनोद रसाइलीलेे सञ्चालन गरेको समारोहमा स्वागत सम्भाषण खरसाङ विश्वकर्मा समाजको सचिव केशवसिंह घतानीले राखेका थिए। कार्यक्रममा संस्थापक तथा दिवंगत सदस्यहरुका स्मरण गर्दै मौन धारण गरेपछि सभाध्यक्ष, प्रमुख अतिथि र अति विशिष्ट अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी शुरु गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वयोवृद्ध डीएस दर्नालको परिचयसितै विश्वकर्मा शताब्दी पुरुष सम्मानले सम्मानित गरिएको थियो। त्यसपछि विनोद रसाइलीद्वारा लिखित तथा निर्मलकुमार गहतराजद्वारा संगीतबध्द विश्वकर्मा समाजको उदवोधिनी गीत प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा विश्वकर्मा समाजको १४ जना पुरोहितहरु र १२ जना अरानमा काम गर्ने शिल्पकारहरुलाई सम्मान जनाइएको छ। कार्यक्रममा शास्त्रीय संगीतको गुरु गोबिन्द सिंह घतानीले सय वर्षको मादलको इतिहास विषयमा वक्तव्य राखेका थिए भने तीनधारेको मादले टोलीद्वारा मादले गीत प्रस्तुत गरिएको छ।

त्यसरी नै विभिन्न स्थानहरुमा विभिन्न क्षेत्रमा योगदान दिने विश्वकर्मा समाजको १० जना विशिष्ट व्यक्तित्वहरूलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मान जनाइएको छ। यस क्रममा विश्वकर्मा शताब्दी पुरुष सम्मान खरसाङ निवासी एंव समारोहको प्रमुख अनित डीएस दर्नाललाई सम्मानित गरिएको छ। यसको साथै विश्वकर्मा शताब्दी संगीत सम्मान रञ्जित गजमेर मुम्बईलाई र विश्वकर्मा शताब्दी चलचित्र श्रीपेज सम्मान तुलसी घिमिरेलाई प्रदान गरिएको छ। दुवैको अनुपस्थितिमा दुवैको परिवारका सदस्यहरुले यो सम्मान ग्रहण गरेका थिए भने दुवैले खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह विषयमा पठाएका शुभकामना सन्देश देखाइएको थियो। त्यसरी नै विश्वकर्मा शताब्दी प्रिय जनप्रतिनिधि सम्मान सिक्किमका विधायक मदन सेञ्चुरीलाई प्रदान गरिएको छ। त्यसरी नै विश्वकर्मा शताब्दी शिखर खेलाडी सम्मान सिलगढीका वीरबहादुर रसाइलीलाई प्रदान गरिएको छ भने विश्वकर्मा शताब्दी साहित्य संस्कृति साँघु सम्मान असमका प्रेम विश्वकर्मालाई प्रदान गरिएको छ। यस क्रममा विश्वकर्मा शताब्दी समर्पित समाजसेवक सम्मान डुवर्स निवासी एंव लायन्स क्लबको गवर्नर केदार गजमेरलाई सम्मानित गरिएको छ भने विश्वकर्मा शताब्दी शीर्षस्थ चित्रकला सम्मान खरसाङका भीमल रसाइलीलाई, विश्वकर्मा शताब्दी आदर्श शिक्षक सम्मान जोरबंगलो दार्जिलिङका विनय गजमेरलाई र विश्वकर्मा शताब्दी शास्त्रीय संगीत गौरव सम्मान कालेबुङका निशान्त सिंहलाई प्रदान गरिएको छ। यस अवसरमा सबैलाई सभाध्यक्ष निर्मलकुमार गहतराज, प्रमुख अतिथि डीएस दर्नाल र विशिष्ट अतिथिहरुका बाहुलीबाट खदार्पणसहित टोपी पहिराएर साथै दोसल्ला ओढाएर स्मृति चिन्ह र प्रशस्ति पत्र प्रदान गरेर विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित गरिएको छ। यसको साथै विश्वकर्मा समाजका विद्यावारिधि प्रापक व्यक्तित्वहरुलाई सम्मान, संस्थापक सदस्यको परिवार तथा भूतपूर्व पदाधिकारीहरुलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा कालेबुङ निवासी पण्डित निशान सिंहले मादलमा आफ्नो दिएका थिए भने वरिष्ठ संगीतकार गोबिन्द सिंह घतानीले मादल र शास्त्रीय संगीत अनि पण्डित निशान सिंह विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा शास्त्रीय संगीतको गुरु थियो। कार्यक्रममा अति विशिष्ट अतिथि सिक्किमका विधायक मदन सेञ्चुरी र समारोह अध्यक्ष निर्मलकुमार गहतराजले वक्तव्य राखेका थिए। शतवार्षिकी समारोहको तेस्रो चरणमा सांस्कृतिक सांगीतिक सम्मिलन समारोहको आयोजना गरिएको थियो जसमा विश्वकर्मा समाजको चर्चित गायक गायिकाहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

यस शतवार्षिकी समारोहमा असम, सिक्किम, दार्जिलिङ, कालेबुङ, डुवर्स, सिलगढी, बिजनबारी, मिरिक, सोनादा, सिटोङ, तीनधारे लगायत विभिन्न स्थानहरुबाट विश्वकर्मा समाजको पदाधिकारीहरु र प्रतिनिधिहरु उपस्थित रहेका थिए। खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह र सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै समारोहको एकजना संयोजक बिजय सेञ्चुरीले खरसाङ विश्वकर्मा समाजको सय वर्ष पूरा गरेकोमा शतवार्षिकी समारोह आयोजना गरिएको त यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने १० जना विश्वकर्मा समाजको विशिष्ट व्यक्तित्वहरूलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मानित गरिएको जानकारी गराएका छन्। उनले यस कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।










