खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतमा दुई दिवसीय श्रमिक मेलाको आयोजना गरिने भएको छ। उक्त दुई दिवसीय सिटोङ सिन्कोना श्रमिक मेला आगामी ८ र ९ दिसम्बरको दिन खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको चुच्चे ढुङ्गा परिसरमा आयोजना गरिने भएको छ। उक्त श्रमिक मेला सम्पूर्ण श्रमिक सरकारी सिन्कोना बगान सिटोङको आयोजनामा हुने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक सिटोङ सिन्कोना श्रमिकगणको तर्फबाट कैलाश शर्मा, देवेन्द्र छेत्री र भूलन राईले दुई दिवसीय श्रमिक मेलाको विषयमा विस्तृत जानकारी गराएका छन्। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै कैलाश शर्माले आगामी ८ र ९ दिसम्बर २०२५ हुने भएको श्रमिक मेलामा श्रमिकहरुलाई लिएर आयोजना गरिएको र यसमा विभिन्न स्टलहरु राखिने जानकारी गराएका छन्। कैलाश शर्माले यस दुई दिवसीय सिन्कोना श्रमिक मेलामा मुख्य आकर्षणको रुपमा विभागीय स्टलहरु राखिने, नेपाली परम्परागत खाना स्टलहरु, स्थानीय उत्पादनहरुको प्रदर्शनी र बिक्री साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने जानकारी गराएका छन्। उनले यसको साथै प्रत्येक दिन १०० जना कृषकजरुलाई कृषि विशेषज्ञबाट कृषिमाथि प्रशिक्षण दिने, कृषि तथा सामुदायिक शिप सम्बन्धी जानकारी र स्वास्थ्य शिविर पनि आयोजना गरिने जानकारी गराएका छन्। आयोजक समितिको तर्फबाट यस दुई दिवसीय श्रमिक मेलामा बैलाई उपस्थितिको लागि आह्वान् गरेका छन्।









