गान्ताेक: राज्यस्तरीय एसकेएम नारी शक्तिले आज जोरथाङको कम्युनिटी हलमा नवनियुक्त नारी शक्ति कार्यकारिणीहरूको सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा राज्यका सबै जिल्लाबाट नारी प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यक्रममा नवनियुक्त नारी कार्यकारिणीहरूको औपचारिक परिचय गराइएपछि उनीहरूलाई सम्मान दिइयो र शपथ ग्रहण समारोहमार्फत जिम्मेवारी, अनुशासन र पार्टी मूल्यप्रति निष्ठा व्यक्त गराइयो।
एसकेएम नारी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले नारी शक्तिको भूमिका, जिम्मेवारी र अनुशासनमा जोड दिँदै टिमवर्क र संगठनमा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने आवश्यकतामा प्रकाश पारेकी थिइन्। उनले महिला सशक्तिकरण र सिक्किमको विकासमा मुख्यमन्त्रीको पहलको सराहना गरिन्।
मुख्यमन्त्रीका राजनीतिक सचिव एवं प्रवक्ता जेकब खालिङले नेतृत्वको दृष्टिकोण, पार्टीका नीतिहरू र जनमतमा नारी शक्तिको भूमिकामा प्रकाश पारे। उनले सामाजिक सञ्जाल र द्रुत सञ्चारको युगमा महिलाहरूको आवाजको महत्वलाई जोड दिँदै विपक्षीहरूको नेरेटिवलाई कडा जवाफ दिनुपर्ने कुरामा जोड दिए।
मुख्यमन्त्रीका राजनीतिक सचिव बिकाश बस्नेतले युवाशक्ति र नारी शक्तिबीच समन्वय, संचार र एकताको आवश्यकतामा जोड दिए। उनले युवाको ऊर्जा र महिलाको समर्पण एकसाथ हुँदा पार्टीको संगठनात्मक शक्ति प्रभावकारी बन्ने बताए।
कार्यक्रमका मुख्य अतिथि एसकेएमका महासचिव अरुण उप्रेतीले नारी नेतृहरूको समर्पणको कदर गर्दै पार्टीले राज्यका महिलाहरूको कल्याणका लागि गरेका परिवर्तनकारी पहलहरूको उल्लेख गरे। कार्यक्रममा मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङको सन्देश पनि पढेर सुनाइएको थियो।










