दुई हप्ता लामो ठ्रोमा वाण्डु कार्यक्रम शुरु
खरसाङ: भूटानबाट आएका खेन्पो छोगेल ग्याल्जेनज्यू दुई हप्ता लामो ठ्रोमा वाण्डु सम्बन्धी आध्यात्मिक कार्यक्रम सञ्चालन गर्नका लागि आज खरसाङस्थित शेर्पा गुम्बामा आइपुगेका छन्। उनको आगमनसँगै गुम्बा प्रांगणमा समाजका सदस्य, गुम्बा कमिटी, वेलफेयरका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको उपस्थितिमा भव्य स्वागत समारोह सम्पन्न गरिएको छ।स्वागत कार्यक्रम अन्तर्गत खेन्पोलालाई खादार्पण, स्वागत मन्तव्य तथा सामूहिक प्रार्थनाको व्यवस्था गरिएको थियो। गुम्बा परिसरमा बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्दै गएको थियो। स्वागत कार्यक्रमपछि खेन्पो छोगेल ग्याल्जेनले आगामी १४ दिनसम्म सञ्चालन हुने ठ्रोमा वाण्डु उपदेश, ध्यान, धार्मिक कक्षा तथा पूजापाठका कार्यहरूबारे प्रारम्भिक निर्देशन दिएका थिए। उनले यो कार्यक्रम समुदायमा आध्यात्मिक चेतना, करुणा र सामूहिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताए।

शेर्पा समाज, गुम्बा कमिटी तथा वेलफेयरकाअनुसार कार्यक्रमको तयारी पूरा गरिएको छ र सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै दैनिक सत्रहरूको समय तालिका छिट्टै सार्वजनिक गरिने बताइएको छ। स्थानीय समुदायले खेन्पोको आगमनलाई आध्यात्मिक सौभाग्यका रूपमा लिएको छ भने आगामी सत्रहरूमा ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको पी लक्की शेर्पाले जानकारी गराएकी छन्।









