२६ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा सोमवार एटीके मोहन बगानले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा आज खेलिएको म्याचमा ए़टीके मोहन बगानले बेंगलुरु एफसी-लाई १-०-ले पराजित गऱ्यो । विजेता टीमबाट सञ्जु साइबोले गोल गरे। एटीके मोहन बगानका याबेश मुर्मुलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी ए पूलबाट एटीके मोहन बगान र एससी ईष्ट बेंगलले सेमिफाइनलमा स्थान बनायो। मंगलवार खेलिने म्याचमा मुम्बई सिटी एफसी र एफसी गोवाबीच भिड़न्त हुनेछ। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।