२६ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सिमलबारी टी.ई.-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा आइतवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा सिमलबारी टी.ई.-ले सुबोथ फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल पुजन सुब्बाले छिराए। अब मंगलवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा ७ फाइटर्स पानीघट्टा र बी७ गुईठा बजारबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।