नाम्ची: आज रेभ. टी तार्गेनको बाहुलीबाट नाम्चीको किसान बजारस्थित आखिल सिक्किम इसाई संगठनको मुख्य कार्यालयको विधिवत रूपमा उद्धघाटन गरियो।कार्यक्रममा सम्बोधन गर्दै यस सङ्गठनका प्रमुख सल्लाहकार सतिशचन्द्र राईले अखिल सिक्किम इसाई सङ्गठन सिक्किमका सबै इसाई मण्डलीहरूको घर जस्तो रहेको बताए। यस सङ्गठनले परेको बेला मण्डलीहरूलाई सहयोग पुऱ्याउने गरेको बताउँदै यस समय ड्रग्सले समाज र धार्मिक सङ्गठनहरूलाई असुरक्षित बनाएको कारण ड्रग्स विरूद्ध काम गरिरहेको उल्लेख गरे। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम सरकार आएपछि सिक्किममा साँचो धर्मनिरपेक्षाता आएको दाबी गर्दै यसका लागि मुख्यमन्त्रीलाई धन्यवाद दिए।
कार्यक्रममा रेभ. डीबी प्रधानले बाइबलका वचनहरू राखेका थिए। धार्मिक गीत, नृत्य आदि पनि प्रस्तुत गरिएको यस कार्यक्रममा वेट लिफ्टर पेमा दोर्जी भोटिया, किशोर दुङमाली र जीवन खरेललाई अभिनन्दन जनाइएको थियो।कार्यक्रममा पास्टर किरण तामाङ र नरेश राईलाई सङ्गठनको नयाँ सदस्यको रूपमा जिम्मावरी प्रदान गरियो। यस अवसरमा यस सङ्गठनका राज्यस्तरीय अध्यक्ष नालम सेराङ, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, वन एवं पार्यवरण विभागका सल्लाहकार गोदेन भोटिया, विभिन्न चर्चका पास्टरगण आदिको पनि विशेष उपस्थिति रहेको थियो।