खरसाङको टेकवीर बस्तीमा गाउँले हाट शुरु

IMG-20251129-WA0116

प्रत्येक हप्ता शनिवार लाग्ने गाउँले हाट

खरसाङ: खरसाङको वार्ड नम्बर २ मा रहेको टेकवीर बस्तीमा शनिवारदेखि गाउँले हाट शुरु गरिएको छ। अबदेखि हप्ताको प्रत्येक शनिवार लाग्ने यो गाउँले‌ हाटको उदघाटन प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, विशिष्ट अतिथिको रुपमा उपस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको कार्यकारी सभापति सन्दीप बल र टेकवीर बस्ती प्रगति गाउँ प्रगति संघको सचिव बीरबल पाख्रिन आदिको बाहुलीबाट विधिवत् रूपमा रिबन काटेर उदघाटन गरिएको छ। टेकवीर बस्तीमा शुरु गरिएको गाउँले हाटको पहिलो दिन २१ वटा दोकानहरु लगाइएको थियो भने ३० वटा दोकानहरु पञ्जीकरण गरिएको जानकारी प्राप्त भएको छ। स्थानीयहरुका लागि भनेर गाउँमा नै शुरु गरिएको गाउँले हाटको यस उदघाटन कार्यक्रमलाई टेकवीर बस्ती युउथको सभापति प्रशान्त गुरुङले सञ्चालन गरेका थिए। टेकवीर बस्तीमा शुरु गरिएको गाउँले हाट सञ्चालन समितिको सभापति प्रितम लामा र सचिव अनीर भुसाल रहेको बताइएको छ‌।‌ यस गाउँले हाट उदघाटनको अवसरमा प्रमुख अतिथि र विशिष्ट अतिथिहरुद्वारा सम्पूर्ण दोकानहरुको निरीक्षण भ्रमण गरिएको थियो। अब यहाँ सञ्चालित गाउँले हाट प्रत्येक शनिवार बिहान ९ बजीदेखि ४ बजीसम्म लाग्ने भएको छ।

उक्त गाउँले हाट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेकवीर बस्तीको युवाहरुले टेकवीर बस्ती र वरिपरिका मानिसहरूलाई प्रत्येक शनिवार यस गाउँले‌ हाटमा आएर सर सामानहरु किनिदिने आह्वान्‌ गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement