दक्षिण अफ्रिकाविरुद्ध पहिलो वनडे म्याचमा रोहित र कोहली मुख्य आकर्षण

IMG-20251129-WA0109

राँची: राँचीमा आइतवारदेखि भारत र दक्षिण अफ्रिकाबीच ३ वटा वनडे म्याचको सीरीज शुरु हुनेछ, जसमा सबैको नजर फेरि एकपल्ट २ दिग्गज खेलाड़ीहरू रोहित शर्मा र विराट कोहलीमाथि रहनेछ। यी दुईजना अहिले वनडे प्रारूपमा मात्र खेलिरहेका छन् अनि यस सीरीजलाई उनीहरूका निम्ति २०२७ वर्ल्ड कपको सम्भावनाहरूलाई मजबूत गर्ने मौका मानिएको छ। म्याच भारतीय समयानुसार आइतवार दिउँसो १ः३० बजीदेखि शुरु हुनेछ। भारतले आउँदो २ महिनामा केवल ६ वटा वनडे म्याच खेल्नु छ, जसमा दक्षिण अफ्रिकापछि न्यूजील्याण्डविरुद्ध घरेलु सीरीज पनि सामेल छ। यसरी सीमित मौका प्राप्त हुने हुनाले यो सीरीज २ जना अनुभवी ब्याटरको निम्ति चयनको अडिशन साबित हुनसक्छ। उल्लेखनीय छ, २०१३-मा यसै जेएससीए स्टेडियम राँचीमा रोहितले पहिलोपल्ट ओपनिंग गरेका थिए अनि त्यसपछि उनको वनडे करियर बद्लिएको थियो। अहिले एक दशपछि त्यही मैदानले उनलाई आफ्नो करियरलाई नयाँ दिशा दिने मौका दिइरहेको छ।
टेस्ट सीरीजको दुवै म्याचमा हारपछि भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरको सर्वत्र आलोचना भइरहेको छ। उनको अनुबन्ध २०२७ वर्ल्ड कपसम्म सुरक्षित रहे पनि यो वनडे सीरीज उनको निम्ति पनि टीमको दिशा र रणनीति स्पष्ट गर्ने महत्त्वपूर्ण मौका हुनेछ। टी२० वर्ल्ड कप आउँदो वर्ष रहेको हुनाले वनडे अहिले प्राथमिकता होइन तर पनि सीमित ओभरहरूका रणनीतिमा स्थिरता ल्याउने जिम्मेवारी गम्भीरमाथि रहनेछ। केही सीनियर खेलाड़ीहरूका अनुपस्थितिले भारतीय टीम संयोजनलाई अझ जटिल बनाउँछ। जसप्रीत बुमराह र मोहम्मद सिराजलाई विश्राम दिइएको छ जबकि शुभमन गिल र श्रेयस अय्यर चोटग्रस्त छन्। यसरी पेस आक्रमण र मध्यक्रमको चयन ठूलो चुनौती हुनेछ। यसबाहेक अलराउण्डरको भूमिकामा वाशिंगटन सुुन्दरलाई खेलाउने या नीतीश कुमार रेड्डीलाई भन्ने पनि ठूलो प्रश्न रहेको छ। यसरी कप्तान केएल राहुलले विकेटकीपिंग गरे के रिषभ पन्तले केवल विशेषज्ञ ब्याटरको रूपमा खेल्नेछन् भन्ने पनि प्रश्न रहेको छ। प्राप्त जानकारी अनुसार पहिलो वनडे म्याचमा राहुल र पन्त दुवैले खेल्ने प्रबल सम्भावना छ। पेस आक्रमणको जिम्मेवारी अर्शदीप सिंह, हर्षित राणा र प्रसिद्ध कृष्णामाथि रहनेछ जबकि कुलदीप यादवले स्पिन आक्रमणको अगुवाई गर्नेछन्। यसरी दक्षिण अफ्रिकी टीम टेस्ट सीरीज जितेपछि आफ्नो फर्मलाई वनडे सीरीजमा पनि कायम राख्न चाहन्छ। प्रमुख पेस बलर कगिसो रबाडा र एनरिक नोर्खिया नखेल्ने हुनाले गेराल्ड कोएत्जी र नान्द्रे बर्गरले पेस आक्रमण सम्हाल्ने सम्भावना छ। स्पिन विभागमा केशव महाराजले धीमा पीचहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यसरी ब्याटिंगमा क्विण्टन डी कक, डेवाल्ड ब्रेविस र म्याथ्यू ब्रिट्जके मुख्य खेलाड़ी हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement