सोनादा: मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न भएको छ। पाँच दशकको लामो शैक्षिक यात्रालाई स्मरण गर्दै विद्यालय परिवार, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय समाजका अग्रजहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।मुण्डाकोठी उच्च विद्यालयले आफ्नो गौरवशाली ५०औँ स्थापना दिवस उत्साह, उमङ्ग र ऐतिहासिक महत्त्वका साथ मनाएको छ। उक्त स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा सभासद नुरी शेर्पा, पूर्व सभासदहरु महेन्द्र प्रधान र रबिन्द्र लामा, एआई, एसआई, पूर्व शिक्षक शिक्षिकाहरु, पञ्चायत प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण शान्ति राईले राखेकी थिइन् भने मुण्डाकोठी विद्यालयको पृष्ठभूमि र इतिहास विषयमा प्रधान अध्यापिका सुधा राईले विस्तृत जानकारी गराएकी थिइन्। कार्यक्रममा बीके देवान, एनएल राई लगायत पूर्व शिक्षकहरु र पूर्व विद्यार्थीहरुलाई सम्वर्ध्दना जनाइएको थियो। यसको साथै प्रमुख, विशिष्ट अतिथिहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुलाई स्मृति चिनो प्रदान गरेर सम्मान जनाइएको छ। सबैलाई प्रधान अध्यापिका, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट सम्मान जनाइएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले वक्तव्य राखेका थिए। उल्लेखनीय छ, मुण्डाकोठी उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९७५ मा भएको थियो भने यस विद्यालयले आफ्नो गौरवशाली ५० वर्षको यात्रा पूरा गरेको छ। यस स्वर्ण जयन्ती कार्यक्रमले विद्यालयले विगत ५० वर्षमा हाँसिल गरेको शैक्षिक उपलब्धि, सामाजिक योगदान र स्थानीय समुदायलाई दिएको पहिचानलाई विशेष रूपमा उजागर गर्यो। विद्यार्थीहरूका सांस्कृतिक प्रस्तुति, सम्मान समारोह, वक्तव्य तथा विद्यालय विकास सम्बन्धी योजनाहरूले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो।

मुण्डाकोठी उच्च विद्यालय यस क्षेत्रको मात्र होइन, सम्पूर्ण समुदायको गौरव बनेको छ। यहाँबाट शिक्षित हजारौँ विद्यार्थी आज विभिन्न क्षेत्रहरूमा चम्किएर समाज र राष्ट्रको सेवामा जुटिरहेका छन्। ५० वर्षको समर्पण, अनुशासन र निरन्तर प्रगतिले यो विद्यालयलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाएको छ। यस स्वर्ण जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मुण्डाकोठी उच्च विद्यालयको प्रधान अध्यापिका सुधा राईले विद्यालयको गौरवमय स्वर्ण जयन्ती समारोहमा उपस्थित र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।










