सोरेङ: सोरेङ जिल्लाका प्रहरीहरूले प्रतिबन्धित नशालु पदार्थसहित पाँच जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा सुकराज सुब्बा, टेक बहादुर छेत्री, कृष्ण छेत्री, धन बहादुर भण्डारी र सागर छेत्री रहेका छन्।
सोरेङ जिल्ला पुलिस प्रमुख नहकुल प्रधानका अनुसार, सोधपुछको क्रममा सबैले नशालु पदार्थ प्रयोग गरेको कुरा स्वीकार गरेका छन्। उनीहरूबाट सानो मात्रामा ब्राउन शुगर पनि जफत गरिएको प्रहरीले जनाएको छ।
आरोपीहरूलाई सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणको लागि लगिएको थियो, जहाँ पाँचै जनाले नशालु पदार्थ प्रयोग गरेको पुष्टि भएको छ। प्रहरीले उनीहरूलाई डिटेन गरेको छ र आगामी दिनमा रम्फूस्थित पुनर्वास केन्द्रमा उपचार, परामर्श र नशामुक्तिको लागि पठाइने बताएको छ।
पुलिस प्रमुख प्रधानले समाजका सबै वर्गसँग मिलेर लागूऔषध दुरुपयोगको खतरासँग लड्न र संदिग्ध ड्रग सम्बन्धित गतिविधिबारे जानकारी दिन सहयोग गर्न आह्वान गरेका छन्।










