लामो समयदेखि लामाको रूपमा कार्यरत् स्याङदेन म्हेम्हेको १००औं जन्मदिन कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अवस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको प्रमुख लामा चन्द्रवीर लामा (स्याङदेन म्हेम्हे) को १०० वर्षको जन्म दिन पालन गरिएको छ। २६ सेप्टेम्बर सन् १९२२ मा जन्मेका स्याङ्देन म्हेम्हे आज २६ सेप्टेम्बरको दिन १०० वर्ष पूरा पुगेकोले उनको परिवार अनि बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिले जन्म दिन धुमधामले मनाएको छ। यस अवसरमा स्याङदेन म्हेम्हेको केक काटेर १००औं जन्म दिन पालन गरिएको छ। स्याङदेन म्हेम्हेको जन्मदिनको अवसरमा उनका चेलाहरू एंव भक्तजन विभिन्न स्थानहरूबाट आएका थिए। म्हेम्हेका चेलाहरूले हिज आईतबारदेखि नै बौध्द धर्म अनुसार पूजा अर्चना गरेका थिए भने आज स्याङदेन म्हेम्हेको बाहुलीबाट नै सबैलाई वाङ वितरण गरिएको थियो। स्याङदेन म्हेम्हेको १००औं जन्म दिन मनाउन उनको चेलाहरू एंव भक्तजन नेपाल, सिक्किम, दार्जिलिङ, खरसाङ, महानदी, तीनधारे, घैयाबारी, मंग्पु लगायत अन्य स्थानहरूबाट उपस्थित भएका थिए। चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेले विगत ४० वर्षभन्दा लामो समयदेखि लामाको कार्य गरिरहेका छन् भने यसावधि उनले आफ्नो गाउँहरू लगायत, खरसाङ, दार्जिलिङ, मंग्पु, कालेबुङ, सिक्किम र नेपालसम्मकाहरूलाई चेला बनाईसकेका छन्। उनले आफ्नो बौध्द शिक्षा प्रदान गरेर धेरैलाई चेला बनाएका छन् भने १०० वर्षको उमेरसम्म पनि यो कार्य जारी राखेका छन्। उनले आफ्नो गुरु प्रथमपल्ट नेपालको डुम्जन लामा (लालवीर लामा) बाट बौध्द ज्ञान प्राप्त गरेका थिए अनि ९ वर्षको उमेरदेखि नै बौध्द धर्मके ज्ञान सिक्ने कार्य थालेका थिए। उनले आफ्नो गुरु बितेपछि लामाहरूको कमी हुन थालेपछि आफ्नो चेलाहरू बनाउन शुरु गरेका थिए भने लगातार रूपमा विभिन्न क्षेत्रहरूबाट आएका आफ्ना चेलाहरूलाई गुफामा राखेर बौध्द शिक्षा प्रदान गर्ने कार्य गरिरहेका छन्। यसै अवधि उनले तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा पनि प्रमुख लामाको रूपमा कार्य गरेका थिए भने सन् १९९७ देखि बाघमारा बस्तीमा नै ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको निर्माण गरेर प्रमुख लामाको रूपमा कार्य गरिरहेका छन्। स्याङदेन म्हेम्हे उर्फ चन्द्रवीर लामाले सन् १९६२ सालमा भारत चीन युध्दको समय बर्मामा गोर्खा सेनाको तर्फबाट चीनविरूध्द युध्द लडे़को पनि उनको कान्छा छोरा विकास लामाले बताएका छन्। उनै लामा म्हेम्हेको १०० वर्ष पुगेको अवसरमा जन्म दिन धुमधामले पालन गरिएको छ।

चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेको १००औं जन्म दिन मनाएको विषयमा उनको जेठा छोरा मिक्मा लामा (थेबा लामा) ले भने, हाम्रो अाप्पाले बाघमारा बस्तीमा मानिसहरूलाई खेतीपाती गर्न सिकाएको र अहिले उनी १०० वर्ष पुगेको अवसरमा खुशी व्यक्त गर्दै आज जन्मदिन धुमधामले पालन गरिएको छ। हाम्रो आप्पाले धेरैजनालाई बौध्द धर्म प्रचार साथै चेलाहरू बनाएको बताएका छन्। स्याङदेन म्हेम्हेको जेठा छोरा मिक्मा लामाले आज सम्पन्न भएको जन्मदिनको अवसरमा विभिन्न स्थानहरूबाट आएका मानिसहरू र भक्तजनप्रति आभार प्रकट गरेका छन्। त्यसरी नै बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिको सभापति आनन्द तामाङले पत्रकारहरूसित कुराकानी गर्दै जन्म दिन पालन गरिएको र यस अवसरमा गरिएको पूजा र वाङ वितरण विषयमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement