कालजयी गीत-संगीत छोडेर पञ्चतत्वमा विलिन भए पहाडका अग्रज कलाकार विनोद स्याङ्देन

सुकेपोखरी: ‘म त हिड़े कारगील छाउनी…’, ‘नौ डाँड़ा पारी नौ रङले ढाके…’ जस्ता गीतका गीतकार, गायक संगीतकार विनोद स्याङ्देन पञ्चतत्वमा विलिन भएl पहाडका यी अग्रज सुपरिचित संगीतकारलाई हजारौं मानिसहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरे| स्याङ्देनको पार्थिव शरीरमा बौद्ध परम्पराअनुसार उनका दुइजना छोराले अग्नि दिए भने दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढी, मिरिक तथा सुके खण्ड क्षेत्रबाट भेला भएका विभिन्न तहका कलाकार, गायक,संगीतकार एवं साहित्यिक व्यक्तित्वहरुले मट्ठी दिएर अन्तिम विदाइ दिए| स्याङदेनको निधनमा गीतकार पुरण गिरी, डा० सञ्जय बान्तवा, डा० मोहन पी दहाल, संगीतकार चन्दन लमजेल, रमेश गुरुङ, पवन राई नामदुङ, ध्रुब चौहान, मनोज लामा, तामाङ बोर्ड चेयरमेन सञ्जय मोक्तान, जीटीएका चेयरमेन अञ्जुल चौहान, गायिका रिमला मोक्तान, विधायक निरज जिम्बा तथा अन्यले गहिरो शोक प्रकट गरे|

अचानक निर्दयी कालको मुखमा स्याङदेन परेको खबरपछि दार्जीलिङ्गे नेपाली संगीत जगतमा ठुलो खाड़ल पर्न गएको छ| उनको निधनपछि स्याङ्देन परिवार अनि उनको जन्मथलो मंगरजोङ मात्र नभएर समग्र पहाड़मा नै शोक पर्न गएको छl उनको निधन खबरले कालजयी गायक स्याङ्देनलाई श्रद्धाञ्जली अर्पण गर्न आज हजारौं संख्यामा विभिन्न तप्काका व्यक्तिहरु नागरी टिई मंगरजोङस्थित स्याङ्देनको गृहमा उपस्थित थिए| नेपाली संगीत जगतका एक ध्रुब मानिने दीप श्रेष्ठका समकालिन कलाकार स्याङ्देनलाई बेग्लै गहकिलो तथा कम्पन स्वरका धनी भएको मुख्य कारण कोलकाता एचएमभीद्वारा भोइस अफ दार्जीलिङ उपाधिले अलङ्कृत गरिएको हो| प्रतिष्ठित गायक संगीतकार स्याङ्देनको संगीतमा अहिलेसम्म गायक एवम् गायिकाहरुमा दावा ग्याल्मो, डेजी बराइली, रिमला मोक्तान, थुप्देन भोटिया, मिरा राणा, बानिका प्रधान, राकेश खालिङ, पवन नामदुङ, प्रतीक्षा थापा, रेणु पाख्रिन, सागर बल तथा अन्यले उत्कृष्ट स्वरको रङ भरेर यसलाई जिवन्त बनाउन ठुलो टेवा पुराएका छन्|

५ जनवरी १९५३ मा आमा नङसल स्याङदेन र बाबु टेकबहादुर स्याङदेनको छोरा बनेर मगरजोङमा जन्मिएका एक तिक्ष्ण बुद्धिका प्रतिभावान हाम्रो जातिका कलाकार दिवंगत स्याङ्देनले स्थानिय प्राथमिक पाठशालाबाट बुनियादी शिक्षा हासिल गरी दार्जीलिङ सरकारी विध्यालयबाट उच्च शिक्षार्जनको गरिमा हासिल गरेका हुन्| विभिन्न संघ संस्थाहरुबाट सम्मान प्राप्त गरिसकेका स्याङदेन सन १९७९ मा तत्कालिन भारतका प्रधानमन्त्री मोरारजी देशाईको बाहुलीबाट पनि सम्मानित भइसकेका हुन्| गीत संगीतलाई जीवनको मुख्य आधार बनाएर यसैमा आफूलाई समर्पित गरेर आएका स्याङदेनको स्वर सधैंको निम्ति बन्द भएको छ भने जिन्दगीको यात्रामा मृत्युसँग हारेर चिरनिद्रामा परेका स्याङदेन आज उनको संगीत अनि ध्रुबको शब्द जस्तो सल्किएर खरानी खरानी बने|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement