गान्तोक: प्रेस क्लब अफ् सिक्किमले २३ नोभेम्बर, २०२५ मा पत्रकार निर्मल मंगरको पक्षमा न्याय माग्दै गान्तोकको सदर पुलिस थानामा विवेक इन्टरटेनमेन्टविरुद्ध मुद्दा दर्ता गरेको छ।
प्रेस क्लबका प्रचार सचिव पंकज ढुङ्गेलका अनुसार, पश्चिम सिक्किमको बोजेक निवासी विवेक छेत्रीले फेसबुकमार्फत सञ्चालित आफ्नो पेजमा पत्रकार निर्मल मंगरको फोटो प्रयोग गर्दै मनगढन्ते, आधारहीन बयानबाजी गरेका थिए, जसले पत्रकारको मात्र नभएर सम्पूर्ण प्रेस जगतको मानसम्मानलाई पनि असर पुर्याएको क्लबले जनाएको छ।
ढुङ्गेलले बताए अनुसार, विवेक छेत्रीले यसअघि पनि पटक–पटक सिक्किमेली मिडिया जगतमा झुटा आरोप लगाउँदै आएका थिए। केही दिनअघि भएको आत्महत्याको घटनामा मिडियाले समाचार सम्प्रेषण गर्दा घटनास्थल र पीडितको नाम गोप्य राखेको थियो। तर, केही व्यक्तिहरूले सत्य–तथ्य नबुझी सामाजिक सञ्जालमा पीडितको नाम र ठेगाना सार्वजनिक गर्दै मिडियालाई बदनाम गर्ने प्रयास गरेका थिए।
विज्ञप्तिमा भनिएको छ, “सत्य–तथ्यलाई ताकमा राखेर सामाजिक सञ्जालमा आधारहीन बयानबाजी गरी प्रेस जगत र पत्रकारको मानमर्दन गर्ने व्यक्तिलाई हामी सहन गर्ने छैनौँ। प्रेस क्लबले कानूनको कठघरामा उभ्याएर न्याय सुनिश्चित गर्नेछ।”
प्रेस क्लबले स्पष्ट पारेको छ कि, पत्रकारद्वारा प्रस्तुत समाचारमा असहमति जनाउने अधिकार सबै नागरिकको छ, तर मनगढन्ते आरोप र गलत प्रचार गरेर व्यक्तिको मानमर्दन गर्नु अस्वीकार्य छ।









