गोरुबथान: पश्चिम बंगालमा दुर्गा पुजा भव्य रूपमा मनाइन्छ। प्रत्येक वर्ष दुर्गा पुजाको अवसरमा ‘सेफ ड्राइभ, सेभ लाइफ’ थिममा विभिन्न पुजा कमिटीहरूले सचेतनामूलक कार्यक्रम आयोजना गर्छन् र सर्वोत्कृष्ट प्रदर्शन गर्ने कमिटीलाई सम्मानित गर्ने प्रचलन छ।
वर्ष २०२५ मा गोरुबथान खण्डबाट ‘सेफ ड्राइभ, सेभ लाइफ’को थिममा उत्कृष्ट प्रदर्शन गरेवापत गोर्खा नव ज्योति संघ पान डाडा, गोरुबथान लाई आज कालिम्पोङमा आयोजित कार्यक्रममा बेस्ट अवेरनेस क्याम्पेन पुरस्कार प्रदान गरिएको छ। कार्यक्रम कालिम्पोङ पुलिस कन्फरेन्स हलमा सम्पन्न भएको थियो।
संघको प्रतिनिधित्व गर्दै राजु सार्की र महेश्वर प्रधान लाई पुरस्कार स्वरूप खदा, स्मृति चिन्ह र नगद राशी प्रदान गरिएको थियो। कार्यक्रममा गोर्खा नव ज्योति संघले गोरुबथान र कालेबुङ पुलिस विभागप्रति आभार व्यक्त गर्दै, आफूहरू पनि पुलिससँग मिलेर ‘सेफ ड्राइभ, सेभ लाइफ’जस्ता सचेतना कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
संघले आजको प्रेस भेलामा, “हामी सधैं पुलिस विभागसँग मिलेर यस्ता कार्यक्रम आयोजना गर्दै जान्छौं र समुदायमा सडक सुरक्षाको चेतना फैलाउने छौं,” भनी बताएका छन्।









