वीरपाडा – ११ वर्षमा जे विकास भयो, ६४ वर्षमा भएन। अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपाडा ब्लकमा रहेको वीरपाडा महाविद्यालयको विज्ञान भवनको उद्घाटन गर्न सोमबार उत्तर बंगाल विकासमन्त्री उदयन गुहा आएका थिए। आफ्नो सम्बोधनको क्रममा उनले कुचबिहारमा कुनै विश्वविद्यालय नभएको, सिलगढी बाहेक कुनै मेडिकल कलेज, जलपाईगढी बाहेक कुनै इन्जिनियरिङ कलेज नभएको, अलिपुरद्वार जिल्लाको अस्तित्व नभएको अवस्थामा यी सबैको समाधान मुख्यमन्त्री ममता व्यानर्जीले गरेको बताए। उत्तर बङ्गाल विकास विभागको रेखदेख र कोषमा ५ करोड ९३ लाखको लागतमा बनेको वीरपाडा महा विद्यालयको विज्ञान भवनको आज उद्घाटन उत्तर बंगाल विकासमन्त्री उदयन गुहको बाहुलीबाट गरियो।

उत्तर बङ्गाल विकास परिषद्का उपाध्यक्ष मृदुल गोस्वामी, सिलगढी जलपाईगढी विकास परिषद्का अध्यक्ष डा. सौरभ चक्रवर्ती, जेडीए अध्यक्ष गंगाप्रसाद शर्मा , समाजसेवी प्रकाश चिक बडाइक, रबिन राई, कुचबिहार पञ्चानन विश्वविद्यालयका उपकुलपति देवकुमार मुखोपाध्याय, अलिपुरद्वार विश्वविद्यालयका उपकुलपति महेन्द्र राय, मदारीहाट खण्ड विकास अधिकारी शेरोन तामाङ, सभापति रोहित विश्वकर्मा र अन्य अतिथिहरू उपस्थित थिए। वीरपाडा महाविद्यालयका भारप्राप्त प्राध्यापक डाक्टर दिलकुमार श्रेष्ठले मन्त्री उदयन गुहालाई धन्यवाद ज्ञापन गरे साथै दीर्घकाल माग रहेको विज्ञान विभागको निर्माणले शिक्षक परिवार अनि विद्यार्थीहरुको सपना पुरा भएको बताए।