कालचिनी – आज बिहान प्रायः ३.३० बजीको बिहानी प्रहरमा निमती आउटपोस्ट अन्तर्गत ३१ सी राष्ट्रिय राजमार्ग पोरो क्षेत्रमा एउटा मर्मान्तिक सड़क दुर्घटना हुँदा ३ जनाको मर्मान्तिक मृत्यु र २ जना गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार कामाख्यागढी निवासी तथा उत्तरबंगाल विश्वविद्यालयका प्रोफेसर सुर्यपद पालको पिता धिरेन्द्र चन्द्र पालको सिलगढ़ीमा निधन हुँदा पिताको शवलाई एम्बुलेन्समा अनि आफ्नो कारमा आफू लगायत आमा, पत्नी र पाँच बर्षीय छोरी र साथी लिएर कामाख्यागढी आफ्नो घरतर्फ आईरहेको थियो।
निमती दोमोहनी पार गरेर पोरो क्षेत्रमा पुग्दा पिताको शव बोकेको एम्बुलेन्स अघि पार गर्न दिएर आफूपछि लाग्दा विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसित अचानक संघर्ष हुनपुग्दा कारमा सवार ५ जना घाईते बनेको थियो भने घटनास्थलमा निमती आउटपोस्टका पुलिसबल पुगेर उद्धार कार्य चलाएर अलिपुरद्वार जिल्ला अस्पताल पुऱ्याएता पनि उक्त मर्मान्तिक दुर्घटनामा प्रोफेसर सुर्यपद पाल उमेर ४३, आमा मिनती पाल उमेर ७० र साथा देवाशीष साहा उमेर ३९ को मृत्यु भएको र पत्नी मिनती पाल ३० र छोरी अदिति पाल ५ लाई आशंकाजनक अवस्थामा अस्पताल पुऱ्याएको जानकारी प्राप्त भएको छ। पिताको शवलाई लिएर अन्तिम संस्कार गर्न घर ल्याईरहेको समय यसरी घर नजीक पुग्ने बेला मर्मान्तिक सड़क दुर्घटनामा परेर ज्यान गुमाउन परेको घटनाले आज सम्पूर्ण शिक्षक जगत र कामाख्यागढी क्षेत्रमा गहिरो शोकको लहर छाएको छ। यता दुर्घटनाग्रस्त कार र ट्रकलाई पुलिसले उद्धार गरेर ल्याएको बताएको छ भने घटनाको छानबीन चलिरहेको बताएको छ।










