कालचिनी- अलिपुरद्वार जिल्ला अधीनस्थ कुमारग्राम खण्डमा पर्ने सुनकोश चियाबारीमा आज बिहान काम जान अघि तृणमूल चियाबारी श्रमिक यूनियनको आह्वानमा गेटसभा सम्पन्न भयो। उक्त गेटसभामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईक लगायत आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज एवम् टीसीबीएसयूका सुनकोश यूनिटका नेता प्रतिनिधिहरूको प्रमुख उपस्थिति रहेको थियो।
प्रायः ९ बुँदे दाबीहरू लिएर कमानको फ्याक्ट्री गेट अघि सम्पन्न सो गेटसभामा चियाबारी सेक्सनहरूमा शौचालयको निर्माण गरिनु पर्ने, श्रमिकहरूद्वारा टिपिएको चियापत्तीको तौल काट्न बन्द गरिनु पर्ने अनि कम्प्यूटर काँटाको बदली पुरानो काँटामा नै पत्ती तौल गराउनु पर्ने, पीएलए नियमअनुसार प्रत्येक सेक्सनहरूमा पक्का सेड बनाउनु पर्ने जहाँ आँधीबेह्री र पानी पर्दा श्रमिकहरू ओत लाग्न सकोस, ८ घन्टा काम गरेर पनि लाटी बुढ़ीहरूको ज्याला कटौती गर्न नपाईने, प्रो-राटा अर्थात समानुपातिक रोजको नियम हटाईनु पर्ने, अवैद्य भाउचर प्रणाली लागु गर्ने नियम फिर्ता लिनुपर्ने, योग्य कामदारलाई उपेक्षा गरेर अस्थायी कामदारलाई सरदार नियुक्त गर्न नपाईने, सवेतन विदाबाट वञ्चित गराउन अघिल्लो दिन काम लगाउने चतुर नियम बन्द गराईनु पर्ने, श्रमिकहरूको घरको मरम्मतीको शीघ्र व्यवस्था गरिनु पर्ने आदि दाबीहरू लिएर आज कमान प्रबन्धनपक्षलाई दाबी पत्र पनि सुम्पिएको थियो।
सो गेटसभामा आईपुगेका तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले आज श्रमिकहरूको चार्टर अफ डिमान्डको एक अंश लिएर गेटसभा गरिएको र राज्य सरकारले कमानको श्रमिकहरूलाई लेबर कार्ड प्रदान गरिरहेको र प्रत्येक चियाबारीहरूमा पीएचई परियोजना उपलब्ध गराइरहेको तर पनि कतिपय चियाबारीको कर्तृपक्षले श्रमिकहरूमाथि मनमानी नियम लाद्न थालेकोले पूजापछि जोरदार आन्दोलन गरिने र पीएफको रुपियाँ लिएर भाजपा सांसद र विधायकहरूले केही काम नगरेकोले आगामी पूजा पश्चात सांसद र विधायकहरूको घर घेराउ गरिने जनाएका छन्।










