गान्तोक: प्रेस क्लब अफ् सिक्किमले वर्ष २०२५ को ग्रामीण पत्रकारिता पुरस्कार युवा पत्रकार सूरज लिम्बूलाई प्रदान गर्ने भएको छ। सिक्किम सरकारको सूचना एवम् जनसम्पर्क विभागद्वारा आयोजना गरिने राष्ट्रिय प्रेस दिवसको अवसरमा उनलाई नगदराशि, स्मृति चिन्ह र प्रशस्ति-पत्रद्वारा सम्मान गरिने क्लबले जनाएको छ।
प्रेस क्लबका अनुसार पश्चिम सिक्किमको योक्सम-टाशीडिङ अन्तर्गत रिम्बीमा २० जनवरी १९९६ मा जन्मेका लिम्बूले दराप उच्चत्तर माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि नाम्ची सरकारी महाविद्यालयबाट स्नातक र सिक्किम विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका हुन्।
स्वर्गीय बिर्खबहादुर लिम्बू र सारा लिम्बूका छोरा सूरजले सन् २०२० मा समिट टाइम्सबाट संवाददाताको रूपमा पत्रकारिताको यात्रा सुरु गरेका थिए। वर्तमानमा उनी सिक्किम न्यूज २४ मा सम्पादकका रूपमा कार्यरत छन्। पाँच वर्षको पत्रकारितामा उनले ग्रामीण क्षेत्रका महत्वपूर्ण समाचारहरू सर्वसाधारणसम्म पुर्याउने कार्य गरेका छन्।
प्रेस क्लबले उनी लगनशील र प्रतिबद्ध पत्रकारका रूपमा चिनिने बताएर आगामी दिनमा पनि उत्कृष्ट योगदानका लागि शुभकामना व्यक्त गरेको छ।









