खरसाङ: खरसाङ महकुमा अन्तर्गत जंगपाना चियाबारीमा श्रमिकहरूलाई एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएको छ। मे फेयर्स कम्पनी अधीनस्थ रहेको जंगपाना चियाबारीमा स्टाफ -सप स्टाफ र श्रमिकहरू लगाएर जम्मा २६० जनालाई एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएको छ। पहाड़मा बीस प्रतिशत बोनसलाई लिएर विवाद भईरहेको समय जंगपाना चियाबारीको मालिक पक्षले एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरेर चियाबारी श्रमिकहरूलाई राहत प्रदान गरेका छन्। यसको साथै खरसाङको तीनधारे महानदी समष्टिभित्र पर्ने चियाबारीहरूमा जंगपाना चियाबारी तेस्रो रहेको जसले श्रमिकहरूलाई बीस प्रतिशतको दरले बोनस वितरण गरेका छन्। योभन्दा पहिला तीनधारे चियाबारी र घुम्ती चियाबारीले पनि एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिसकेकोछ। पहाड़मा सबैभन्दा पहिला एकै किस्तामा बीस प्रतिशत बोनस तीनधारे चियाबारीले वितरण गरेको थियो। आज जंगपाना चियाबारीमा बीस प्रतिशतको दरले बोनस वितरण अनलाइन रुपमा वितरण गर्दै प्रत्येक श्रमिकको ब्यांक खातामा पैसा जमा गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै आज नै जंगपाना चियाबारीमा स्टाफ, सप स्टाफ र पुरुष श्रमिकहरूलाई टि सर्ट अनि महिला श्रमिकहरूलाई साड़ी पनि पूजाको भाग स्वरुप वितरण गरिएको छ जानकारी प्राप्त भएको छ। जंगपाना चियाबारीमा एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएको विषयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जंगपाना शाखाको सचिव सन्तोष गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै जंगपाना चियाबारीको श्रमिकहरूका लागि मालिकले एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरेको जानकारी गराएका छन्।

उनले बोनस मात्र होइन तर श्रमिकहरूलाई पुजाको उपहारस्वरुप टि सर्ट र साड़ी पनि वितरण गरिएको बताउँदै यसरी जंगपाना चियाबारीमा एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएकोमा मालिक पक्ष साथै जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा र भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्। यसरी नै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जंगपाना चियाबारीमा एकै किस्तामा बीस प्रतिशतले बोनस वितरण गरिनुमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको मुख्य हात रहेको भन्दै जीटीए चिफ् अनित थापा अनि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समिति समक्ष सम्पूर्ण जंगपाना चियाबारीको पक्षबाट आभार प्रकट गरेका छन्।










