सेवक: गत १८ सेप्टेम्बर २०२२को दिन सेवक रोडमा एक दुर्घटना भएको थियो। सो दुर्घटनामा एसएनटी बसले धक्का दिँदा स्कुटरमा सवार भएका सचिन छेत्रीको घटनास्थलमा नै मृत्यु भएको थियो। जीटीएको प्रमुख अनित थापाले सो दिन नै परिवार पक्षसित भेट गरी न्यायको निम्ति आफ्नो तर्फबाट पहल गरिदिने वचन दिएका थिए।सोही अनुरुप उनले सिक्किम सरकारसित यस घटना सम्बन्धी कुराकानी गरे।आज जिटिए प्रमुख अनित थापा सिक्किमका माननीय परिवहन मंत्री मिङमा नोर्बु शेर्पा, ट्रान्सपोर्ट सचिव राज यादव अनि विभागका अधिकारीहरू बैठक गरे।

सो बैठकमा पीडित परिवारका सदस्यहरू, स्थानीय नागरिक समाजका प्रतिनिधिहरु अनि स्थानीय समाजका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो।यस बैठकको प्रतिफल स्वरुप सिक्किम सरकारले दुर्घटनामा मृत्यु भएका सचिन क्षेत्रीको परिवारलाई आर्थिक सहयोगको रूपमा रु ५ लाख दिने भए।सरकारको इन्स्योरेन्स पोलिसीको आधारमा भविष्यमा थप रु २० लाख पीडित पक्षले पाउने कुरा पनि बैठकमा छलफल भयो। यसको साथमा मृतकको परिवारको एक सदस्यलाई सिक्किम सरकारले सिलीगुडी स्थित एसएनटी कार्यालयमा नौकरी पनि दिने भएका छन्।